संविधान रक्षा गर्न गठबन्धनका नेताहरूले मलाई प्रधानमन्त्री बनाए : देउवा

 कात्तिक २०, २०७९ आइतबार १६:२५:३० | रासस
unn.prixa.net

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र अहिले सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ ।

आज आइतवार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटक–पटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गर्नुभयो । 

‘अहिलेको सरकार गठबन्धनको सरकार हो’, उहाँले भन्नुभयो, ‘गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।’ वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘संसद् विघटन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले’, उहाँले भन्नुभयो, ‘संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गर्‍यौँ ।’ 

डडेल्धुराका नागरिकले मत दिएर सहयोग गरेर आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रि–मधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने बताउनुभयो । 

‘पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ’, उहाँले भन्नुभयो, ‘त्यहाँ सम्भाव्यता अध्ययन गर्छौँ, मिले पक्की पुल नभए झोलुङ्गे पुल भए पनि बनाउनेछु ।’

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया