स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी

 कात्तिक २०, २०७९ आइतबार २०:२९:४२ | रासस
unn.prixa.net

सोलुखुम्बु – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज आइतवार १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन गर्नुहुँदै उहाँले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो । 

यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उहाँले बताउनुभयो । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । यसका लागि पालिकाको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयवासीलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उहाँले बताउनुभयो । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उहाँले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो । 

सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गर्नुभयो । 

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउन्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताउनुभयो । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने उहाँको भनाइ छ ।  

यो अस्पताल निर्माण गर्न झन्डै २० करोड रुपैयाँ लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिनुभयो । अस्पताल कोङ्दे हिमालको काखमा (दुई हजार ६१० मिटर) उचाइमा अवस्थित छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो । 

सन् २०१७ जुलाईमा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो । अहिले अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि ५० लाख रुपैयाँ खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाण्डौसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया