बझाङका बाढी पीडितको एउटै स्वर : कसम खुवाएर मात्रै मतदान

 कात्तिक २१, २०७९ सोमबार ७:५०:३० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङका बाढी पीडितहरुले आफूहरुको समस्या समाधान गर्ने दल तथा उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् । अघिल्लो वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीका कारण विस्थापित भएका खप्तडछान्ना गाउँपालिकाका झण्डै ७७ परिवार अझै बिचल्लीमा छन् ।

दलहरु भोट माग्न पुगेका बेला उनीहरुले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता गराएपछि मात्र भोट दिने बताएका छन् । खप्तडछान्ना – १ खाती गाउँका सुरेन्द्र खातीले भन्नुभयो, 'एक वर्षसम्म आश्वासनमा बितायौँ, सरकारी क्षेत्रबाट सोचे जति सहयोग भएन । यो चुनावमा भने हाम्रा समस्या समाधान गर्नेलाई कसम खुवाएर मात्रै भोट हाल्ने निर्णयमा पुगेका छाैँ ।'

गएको हप्ता घरदैलो अभियान गरेको नेकपा (एमाले) का उम्मेदवारसहितको टोलीलाई बाढी पीडितले घर खेत बगाएको बगर देखाउँदै बाढी पहिरो पीडितहरुले आफ्ना समस्याप्रति संवेदनशील हुने वाचा गरे मात्र भोट दिने बताए । त्यस्तै सत्ता गठबन्धनका उम्मेदवारहरुलाई पनि पीडितहरुले उही कुरा दोहोर्याए । भोट माग्न गएकाहरुले समस्या समाधान गर्ने आश्वासन पनि दिएका छन् । तर पीडितहरुलाई अझै विश्वास छैन । भाषणभन्दा काम गर्नेहरुलाई मात्रै मतदान गर्ने बाढी पीडितहरु बताउँछन् । 

बाढी पहिरोका कारण उठिबास भएकामध्ये धेरै आफन्तको गोठ तथा घरमा शरण लिएर बसेका छन् । उब्जनी हुने खेतीयोग्य जमिन बगरमा परिणत भएपछि बाढी पीडितलाई एक छाक टार्न समेत धौ धौ भएको छ । घर खेत बगाएर सुकुम्बासी बनेका खप्तड छान्ना – १ का रिने खातीले भन्नुभयो, 'पटक पटक विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा धाउँदै आएको छु । सबै ठाउँबाट आश्वासन मात्र पाइयो । अझ चुनावका बेला पनि भोट देउ भनेर घरदैलोमा पुगेका छन् । जसले हाम्रा समस्या सुन्छ र काम गर्छ उसलाई कसम खुवाएर मात्र भोट दिन्छौँ ।'

यहाँका बाढी पीडित यसपालिको वर्षायाममा पनि ठूलो बाढी आउँछ कि भनेर रातभर जाग्राम बसे । खप्तड छान्ना गाउँपालिका– १ खातीगाउँका हर्कखातीले भन्नुभयो, ‘घरको आँगनमा खोला छ, राति सामान्य वर्षा भए पनि सुत्न सकिरहेका छैनौँ, कतिखेर घर बगाउने हो भन्ने चिन्ता छ । अलिअलि सिमसिम पानी पर्नासाथ खोला बढेर आइहाल्छ, रातभरि खोला हेरेर जाग्राम बस्नु पर्ने अवस्था छ । बाढी पहिरो पीडितका समस्याप्रति संवेदनशील भएर काम गर्ने नेतालाई हाम्रो सहयोग हुन्छ ।'

खप्तड छान्ना गाउँपालिकाको कालुखेती, घाटखोला, पसलबगर, ऐचेली बगर, खातीगाउँ र ऐराडा लगायतका एक दर्जनभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाको मुख्य आवतजावत गर्ने सडक समेत भत्किएको छ । गाउँपालिकाको मुख्य बाटो मष्टाको पातील हल्ना र घाटखोला नजिकै खडिमेलामा लगातार पहिरो बगिरहेकाले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन् । 

खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले भन्नुभयो, 'गाउँपालिकाको सीमित स्रोत र साधनले नभ्याउने भएकोले पटक पटक प्रदेश सरकार र सङ्घीय सरकारसँग पहल गरिरहेको छौँ । गृह मन्त्रालय लगायतका सरोकारवाला निकायमा डेलिगेसन समेत गएर ध्यानाकर्षण गराएका छाैँ ।’ उहाँले घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि सरकारले घर बनाउन प्रतिपरिवार ५ लाख रुपयाँ दिइरहेको बताउनुभयो ।  

गएको वर्ष धान भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका यहाँका किसानका सयौँ हेक्टर उर्बर भूमि बाढी पहिरोले बगाएको थियो । सङ्कटग्रस्त क्षेत्र घोषणा भएको एक वर्ष बितिसक्दा पनि  बाढी पहिरो प्रभावित नागरिक तथा क्षति भएका सरकारी तथा गैरसरकारी संरचनाको निर्माणमा काम हुन सकेको छैन ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया