पृथ्वीराजमार्ग विस्तार : ४ सय ६६ रुख काटिने

 कात्तिक २५, २०७९ शुक्रबार ९:३३:३४ | रासस
unn.prixa.net

तनहुँ - पृथ्वी राजमार्ग सडक विस्तारको काम तीव्र रुपमा भइरहेको छ । याे क्रममा अब ४ सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ  रहेका ४ हजार २ सय ५ रुख कटान गरिसकेको छ । 

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उहाँले बताउनुभयो ।  'सबै रुख नकाटिन पनि सक्छन्', उहाँले भन्नुभयो, 'काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।'

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । यस सडक खण्डमा २ हजार ४ सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उहाँले बताउनुभयो । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिनुभयो । 

व्यक्तिगत संरचना ७ सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन् । आईपीएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उहाँले भन्नुभयो, 'आर्थिक पारदर्शिताका लागि आयोजनाले याे प्रणाली अपनाएको हो ।' जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरि क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउनुहुन्छ । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखेर आयमूलकतर्फ केन्द्रित गरिने उहाँको भनाइ छ ।

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउनुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया