तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम : २५ वटा टावर निर्माण

 कात्तिक २६, २०७९ शनिबार ८:२९:२७ | रासस
unn.prixa.net

तनहुँ - तनहुँ जलविद्युत् आयोजनाको प्याकेज तीन अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि टावर निर्माण कार्य भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले अहिलेसम्म २५ वटा टावर सम्पन्न गरेको छ ।

दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि टावर निर्माण निरन्तर चलिरहेको आयोजनाले जनाएको छ । त्यसैगरी अहिलेसम्म ४८ वटा टावरको फाउण्डेशनको कार्य सम्पन्न गरिसकेको आयोजनाका निमित्त प्रमुख राजभाइ शिल्पाकारले जानकारी दिनुभयो । टावर निर्माण गर्ने ठाउँका वनका केही रुख काट्नुपर्ने भएकाले बीचमा केही समय निर्माण कार्य रोकिन पुगेको थियो ।

आयोजनाले वन मन्त्रालयमा परिपत्र पठाइसकेकाले अब पुनः काम सञ्चालन हुनेछ । आयोजनाको निर्माण २०८३ सालकाे असारभित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको कामको जिम्मा भारतीय कम्पनी केईसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको जग्गा प्राप्तिका लागि मुआब्जा वितरण भइरहेको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । एक हजार चार सय ५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्ने भएकाले अहिलेसम्म तीन सय ५० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ ।     

अहिले आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम भइरहेको छ । यो प्याकेजको ठेक्का सोङ दा–कालीका जेभीले पाएको उहाँले बताउनुभयो । प्याकेज दुईअन्तर्गतको विद्युतगृह खन्ने काम सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।  

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृतगृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि सुरु भएको हो । सिनो हाइड्रो कम्पनीले झण्डै ४ सय ३७ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया