चितवनका मतदाता भन्छन् : ‘चुनावपछि काम गरेर खान पाइयोस्, सुखले बाँच्न पाइयोस्’

 कात्तिक २७, २०७९ आइतबार १०:४१:२२ | रासस
unn.prixa.net

चितवन - चुनाव आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । 

पछिल्लो हप्ता राजनीतिक  तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । चुनावको समयमा गरेका वाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ ।  

भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गर्नुभयो । 'भोट हालेर चुनावमा जिताएर के गर्ने रु काम गरीखाने ठेला महानगरमा छ। काम गरेर पनि खान दिइएन', उहाँले गुनासो गर्नुभयो । 'रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झँदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने', भन्नुभयो । 

उहाँले ठेलामा मकै पोलेर परिवार पाल्दै आउनुभएको छ । उहाँले बेलुका बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उहाँको ठेला नियन्त्रणमा लिएका थिए । 'पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन', उहाँले भन्नुभयो, 'हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।' उहाँले चुनावपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताउनुभयो ।

भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको चुनावमा दोधारमा रहेको बताउनुहुन्छ । 'यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन', उहाँले भन्नुभयो । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले बेलुका बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गर्नुभयो । 

'महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, नागरिकको दुःख बुझ्ने नेता को छ र?' उहाँले प्रश्न गर्दै भन्नुभयो । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उहाँका श्रीमानले ज्याला मजदुरी गर्नुहुन्छ । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमानले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, 'हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।' उहाँले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भन्नुभयो ।

'तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो', उहाँले भन्नुभयो, 'अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।' अटो चलाउँदै आउनुभएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौँ युवा विदेशिनुपरेको बताउनुहुन्छ । 'चुनावका बेला नागरिकको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ', उहाँले भन्नुभयो ।

भरतपुर–१ मा रहेकाे पोखरा बसपार्कका रामजी शर्माले चुनावको समयमा मत दिँदा विचार पुर्याउनुपर्ने बताउनुभयो । 'फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्', उहाँले भन्नुभयो, 'देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।'

दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताउनुभयो । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया