अपाङ्गता भएका मतदाता भन्छन् : ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’

 कात्तिक २७, २०७९ आइतबार १२:८:५२ | रासस
unn.prixa.net

तस्बिर : रासस

तनहुँ - तनहुँको व्यास नगरपालिका–१० का कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहुन्छ । चुनावमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ । 

'मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ', उहाँले भन्नुभयो, 'चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ।'

मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उहाँको अनुभव छ। 'छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो ठाउँमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ', उहाँले भन्नुभयो ।

मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव रहनुभएकी उहाँले भन्नुभयो, 'हामीहरूले यस विषयमा आवाज उठाउँदै आएका छौँ, तर पनि सुनुवाइ हुँदैन ।'

प्रायजसाे मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उहाँको अनुभव छ । मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ । 'प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिँदैन', आफ्नै अनुभव सुनाउँदै उहाँले भन्नुभयो, 'ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो ।' 

पालिका चुनावमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उहाँले आफूहरू त्यस्तो नचाहने बताउनुभयो । 'हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपाङ्गता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला', उहाँले भन्नुभयो, 'मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु ।'

मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो । 

चुनाव कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो । 'मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ', ढकालले भन्नुभयो । 

जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन् । सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ । विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया