चितवनका मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत दिनेलाई भाेट

 कात्तिक २८, २०७९ सोमबार १२:५२:२१ | रासस
unn.prixa.net

चितवन - रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बन्नुभएको छ । 

उहाँले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परि धेरैपटक मतदान गर्नुभयो । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले नागरिक सधैँ मारमा परिरहेको गुनासो सुनाउनुभयो ।

'हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महशुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्यो', उहाँले भन्नुभयो, 'गरिब विपन्न परिवारका नागरिकले सामान्य आधारभूत समस्यामा नै जीवन गुजारा कतिञ्जेलसम्म चलाउने हो ।'

आर्थिक अवस्था नाजुक भएका परिवारलाई विशेष प्राथमिकता दिएर सामान्य आधारभूत आवश्यकताको परिपूर्ति गर्ने योजना ल्याउने उम्मेदवारका पक्षमा मतदान गर्ने उहाँ हुनुहुन्छ । बिहान बेलुका हातमुख जोड्न धौधौ पर्ने उहाँको परिवारमा खानेपानी, विद्युत् महशुल शुल्क, स्वास्थोपचार जस्ता समस्याले सधैँ पिरोल्ने गर्दछ ।

अहिलेको परिवेशमा पनि गाउँका नागरिक ठूला सपनाभन्दा पनि सामान्य आधारभूत समस्यामा नै पछाडि परिरहेका छन् । सबै गाउँबस्तीमा विद्युत् सुविधा, खानेपानीको राम्रो प्रबन्ध, गाउँमै आधारभूत स्वास्थ्योपचारको व्यवस्था, प्राविधिक शिक्षा, सडक स्तरोन्नति गर्न मतदाताले घरदैलोमा पुगेका उम्मेदवारसमक्ष माग गरिरहेका छन् । 

रामपुर– ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपाने नेतृत्वले आफ्नो स्वार्थमा मात्रै कार्य गर्ने तर नागरिकको इच्छा भावनाअनुसार काम नगरेकाले उनीहरुको कार्यशैलीप्रति नागरिक सन्तुष्ट नरहेको बताउनुहुन्छ । चुनावमा मत माग्न घरमा आउने उम्मेदवारसमक्ष उहाँले नागरिकले देशमा परिवर्तन चाहेको र सबै नागरिकको मर्म र भावनाअनुसार काम गर्ने नेतृत्वको खोजीमा रहेको बताउनुभयो ।

'देशमा परिवर्तन हुन्छ कि भन्ने आशमै उमेर ढल्कियो, नागरिकले चाहेअनुसार काम नै हुन सकेन, लगातार एउटै नेतृत्वले परिवर्तन हुन सकेन, अब हामी नागरिकको समस्या सुल्झाउने नयाँ नेतृत्व मतदाताले चुन्नुपर्छ', उहाँले भन्नुभयो ।

उहाँले देशमा २००७ सालको राणशासन अन्त्यपश्चात् अहिलेसम्म विभिन्न व्यवस्था परिवर्तन भए पनि गाउँका कुनाकाप्चामा बसोबास गर्ने नागरिकको अवस्थामा सुधार नआएको बताउनुभयो । राम्रा व्यक्तिभन्दा पनि हाम्रा व्यक्तिको पछाडि मतदाता लागेका कारण नागरिकले चाहना गरेअनुसारको काम नभएको न्यौपानेको भनाइ छ ।

रम्भा गाउँपालिका– ३ पीपलडाँडा बस्ने कृष्णप्रसाद बस्यालले विधि र सिद्धान्तअनुसार नेतृत्वले काम नगरेकाले त्यसको सजाय नागरिकले भोग्नु परिरहेको बताउनुभयो । आजको एक्काइसौँ शताब्दीमा पनि सामान्य आधारभूत समस्यामै नागरिक गुज्रनुपर्ने अवस्था रहँदा मतको सही सदुपयोग नभएको बस्यालको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, 'पानी आउँदा हिलाम्य र घाम लाग्दा धुलाम्य सडकको सास्ती कहिलेसम्म खेप्नुपर्ने, गाउँमा सामान्य औषधोपचार नपाएर नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ, अझै पनि घण्टौँ हिँडेर पानी बोकेर खानुपर्ने बाध्यता कायमै छ, गाउँमा बिजुली सुविधा पुग्न सकेको छैन, ती टुकीका भरमा बसेका नागरिकले कहिले पाउँछन् विद्युतकाे उज्यालो ?'

चुनावी चहलपहलले गाउँकेन्द्रित भएका उम्मेदवार, दलका नेता कार्यकर्तालाई मतदाताले अघिल्ला चुनावका वाचा र प्रतिबद्धताबारे झस्काइरहेका छन् । सही र सक्षम नेतृत्वको पर्खाइमा रहेका मतदाता चुनावी परिवेशमा मात्रै गाउँ फर्कने उम्मेदवार, नेता कार्यकर्ताले मतदातालाई भोट बैंकका रुपमा लिएकामा आपत्ति जनाएका छन् । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया