काठमाण्डौ–९ : जित दोहोरिनेमा कृष्णगोपाल ढुक्क, कल्पना धमलाको बलियो चुनौती

 कात्तिक २८, २०७९ सोमबार १५:२८:५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौका अरु चुनावी क्षेत्र जस्तै क्षेत्र नम्बर ९ पनि चर्चामा छ । केपी ओलीलाई फुटबलको पेलेसँग दाँजेर चर्चामा आएका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ एमालेकातर्फबाट यस क्षेत्रको उम्मेदवार हुनुहुन्छ । निवर्तमान सांसदसमेत रहेका श्रेष्ठ यस पटक जित दोहोर्याउने दाउमा हुनुहुन्छ । तर, उहाँलाई चुनौती दिँदै सत्ता गठबन्धनकातर्फबाट नेकपा माओवादीले कल्पना धमलालाई उठाएको छ ।

२०७४ सालको संसदीय चुनावमा श्रेष्ठले २२ हजार ८ सय ५२ प्राप्त गरी विजयी हुँदा कांग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८ सय २ मत ल्याउनु भएको थियो । ८ हजारको ठूलो मतान्तरले विजयी भएका कारण पनि एमालेका नेता तथा कार्यकर्ता यस क्षेत्रमा श्रेष्ठ नै दोहोरिने सम्भावना रहेकोमा आशावादी छन् । तर, गएको संसदीय चुनावमा वामगठबन्धबाट उम्मेदवार बनेका श्रेष्ठलाई अहिले माओवादी केन्द्र र एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकाे साथ रहने छैन ।

बेलाबेला आफ्नो बोली र व्यवहारका कारण विवाद तथा चर्चामा आइरहने कारण पनि श्रेष्ठलाई धमलाले राम्रै चुनौती दिने कांग्रेस र माओवादीको अनुमान छ । निवर्तमान सांसद एवम् मन्त्रीसमेत हुँदा पनि यस क्षेत्रमा खासै काम नगरेकाे हुँदा पनि स्थानीय रुष्ट भएका कारण विरोधी मत आफ्नो पक्षमा आउने माओवादीको बुझाइ छ ।

विभिन्न दल र स्वतन्त्र गरी २२ जना उम्मेदवार रहेको यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देवेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेकबहादुर पोखरेललाई उठाएको छ । २०७४ सालको संसदीय चुनावमा ४ हजार ९ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको विवेकशील साझा पार्टीका मिलन पाण्डे पनि यसै क्षेत्रमा उम्मेदवार हुनुहुन्छ । उहाँको पनि यस क्षेत्रमा राम्रै चर्चा छ । तर, विवेकशील साझा पार्टीमा आएको उतारचढावका कारण यो चुनावमा जति चर्चा हुनुपर्थ्याे त्याे भने देखिँदैन । सुनिल रिजाल र मधु कार्की जस्ता स्वतन्त्र उम्मेदवारको पनि राम्रै चर्चा छ । तर, प्रतिस्पर्धात्मक रुपमा अगाडि नै आउने सम्भावना भने रहेको देखिँदैन ।

नेताहरु जित दोहोर्याउने र विकास गर्ने भनिरहँदा काठमाण्डौ महानगर र नजिकका क्षेत्र भए पनि यहाँ बाटोघाटो, खानेपानी र स्वास्थ्यका समस्या मुख्य रहेको यहाँका बासिन्दाको गुनासो छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ का रामहरी सापकोटा आफ्नो क्षेत्रमा पनि खानेपानी र बाटोको मुख्य समस्या रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जहाँको पनि समस्या उस्तै हो । यहाँ पनि खानेपानीको समस्या छ । केही हल पनि भयो । बेरोजगारी पनि त्यस्तै समस्या छ । आयआर्जन गर्ने कुनै बाटो छैन ।’

दीर्घ रोगीहरुलाई केही सुविधा पुगेको र सरकारले यस्ता रोगीहरुलाई भने हेरेको उहाँले बताउनुभयो । यसमा अझ थप सहयोग गरे राम्रो हुने पनि उहाँको सुझाव छ ।

यसै क्षेत्रका पश्नलाल पाण्डे २०३६ सालदेखि भोट हाले पनि खासै समस्या समाधान नभएको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘चुनावका बेला नेता आउँछन हात जोड्छन । त्यसपछि कता हो कता ।’

रोजगारीका लागि आफ्नो परिवारका सबै सदस्य विदेश गएका कारण बुढाबुढी मात्र घरमा भएर समस्या परेको उहाँको भनाइ छ । नेताहरुले देशमा रोजगारी सृजना गर्न सके राम्रो हुने पनि उहाँको सुझाव छ ।

त्यस्तै यसै क्षेत्रकी कल्पना खतिवडा आफ्नो क्षेत्रमा खानेपानीको समस्या रहेको र जो नेता आए पनि समाधान गर्छु भन्ने तर, नगरेकोमा दुखी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँ खानेपानीको समस्या छ । धेरै पटक भोट हालियो । जो आए पनि गर्छु भन्छन् तर, कसैले गरेका होइनन् ।’

यस क्षेत्रमा काठमाण्डौ महानगरपालिकाको १२, १४, २१ र २२ नम्बर वडा पर्छन् । त्यस्तै चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १, १२, १३, १४ र १५ नम्बर वडा पर्छन भने नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० नम्बर वडा पर्छन् ।

गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मत हेर्दा यहाँ कांग्रेस अगाडि देखिन्छ । कांंग्रेसका वडाध्यक्षहरुले १९ हजार ९ सय १६ मत प्राप्त गर्दा एमालेका वडाध्यक्षहरुले १९ हजार २ सय ८२ मत प्राप्त गरेका छन् । त्यसैगरी माओवादीले ६ सय ९५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले भने ४ सय ६५ प्राप्त गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया