पूर्वी नवलपरासी–१ : विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा

 कात्तिक २८, २०७९ सोमबार १४:५७:३ | रासस
unn.prixa.net

नवलपरासी – प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा हुने देखिएकाे छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले)बाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को (१) मा सत्तागठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी मैदानमा रहनुभएको छ भने क्षेत्र नं १ को (२) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिनुभएको छ । 

विसं २०४८ देखि यो क्षेत्रमा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकाले यसपटक पनि कांग्रेस आफ्नो विरासतलाई निरन्तरता दिने प्रयत्नमा छ । कांग्रेसको विरासत यसपटक भत्काउने प्रयत्नमा एमाले रहेको छ । कांग्रेसका कोइरालाले वि‍.सं २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीलाई चार हजार २४ मतान्तरले हराउनुभएको थियो । 

यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २६, एमालेले २५ र माओवादी केन्द्रले एउटा वडाको वडाध्यक्षमा जित निकालेका थिए । यो क्षेत्रमा नेपाली कांगे्रसका वडाध्यक्षका उम्मेदवारले ४० हजार पाँच सय ११, एमालेको ३९ हजार नौ सय ५१, राप्रपाको दुई हजार तीन सय ७३, माओवादीको एक हजार नौ सय २१ र जसपाका उम्मेदवारले एक सय ८८ मत पाएका थिए । 

निर्वाचन क्षेत्र नं १ मा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीसहित पूर्वी भाग पर्दछ । आउँदाे मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख ६० हजार चार सय ६१ मतदातामध्ये यहाँ एक लाख ३१ हजार एक सय ८० मतदाता रहेका जिल्ला निर्वाचन प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो । क्षेत्र नं १ प्रदेशसभा ९१० मा ६३ हजार पाँच सय ३५ र प्रदेशसभा ९२० मा ६७ हजार छ सय ४६ मतदाता छन् । 

गएकाे पालिका तहको चुनावमा तीन पालिकामध्ये एकमा नेपाली कांग्रेस र दुईमा एमाले विजयी भएको थियो । गैँडाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले, देवचुली नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले र बुलिङ्टारको अध्यक्षमा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया