महोत्तरी–३ : उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ

 कात्तिक २९, २०७९ मंगलबार ९:३१:४१ | रासस
unn.prixa.net

महाेत्तरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको मतदान नजिकिँदैछ । जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसमेत सम्मिलित महोत्तरी–३ प्रतिनिधि सभा क्षेत्रका उम्मेदवारलाई अहिले मतदाता भेट्न भ्याइनभ्याइ छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल र नागरिक समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसहित २१ प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ । 

संयोग नै भन्नुपर्छ, ठाकुर, लाल र यादवले विगतमा नेपाली कांग्रेसबाट राजनीति प्रारम्भ गर्नुभएको थियो । तत्कालीन पञ्चायतकालमै कांग्रेसमा आबद्ध रही प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लामो योगदान दिनुभएका यी तीनै नेता २०६२/६३ को मधेस आन्दोलनपछि तत्कालीन तमलोपा र मधेसी जनअधिकार फोरममा आबद्ध हुनुभयो । ठाकुर र लाल तमलोपामा र यादव तत्कालीन फोरमबाट नयाँ राजनीति यात्रा सुरु गर्नुभएको थियो   । यादव २०६४ सालको पहिलो संविधान सभामा जिल्लाको तत्कालीन क्षेत्र नं २ बाट निर्वाचित हुनुनभएको थियो ।

२०७७ सालमा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टी र तमलोपा एकीकरण हुँदा तीनैजना एउटै दलमा आबद्ध हुन पुग्नुभयो । तर यो एकीकरण एक वर्ष नपुग्दै २०७८ मा पुनः विभाजन आएको थियो ।

२०७४ सालको चुनावमा तत्कालीन राष्ट्रिय नागरिक पार्टी र सङ्घीय समाजवादी पार्टी गठबन्धनमा चुनाव लड्दा लाल र यादव अध्यक्ष ठाकुरका सहयोगी हुनुहुन्थ्यो । अहिले तिनै पूर्वसहयोद्धा र सहयोगी अध्यक्ष ठाकुरका यसपटकका मुख्य प्रतिस्पर्धीमा उत्रिएका छन् ।

'उम्मेदवार त २१ जना हुनुहुन्छ, सबै नागरिककै बीच देखिनुहुन्छ', जलेश्वरवासी मनोज झा भन्नुहुन्छ, 'तर अहिलेसम्मको जनप्रतिक्रिया हेर्दा ठाकुर, यादव र लालको बढी चर्चा सुनिन्छ । ठाकुर यसअघि २०७४ को चुनावमा यसै क्षेत्रबाट निकटतम् तत्कालीन बाम गठबन्धनका प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मत बढी पाएर प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । खासमा अहिलेको आसन्न  चुनाव परिणाम जसको पक्षमा आए पनि क्षेत्रको चर्चा भने ठाकुरको उम्मेदवारीले बढाएको कुरा सामान्यतया यहाँ सबैले स्वीकार्छन् ।

यसपालि दोस्रोपटक यो क्षेत्रबाट उम्मेदवार बन्नुभएका ठाकुरले २०७४ को चुनावमा आफ्ना निकटका सहयोगी जसपा नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसँग कडा टक्कर लिनुपर्ने आकलन धेरैले गर्दछन् । २०७४ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवारलाई करिब तेब्बर मतले पछि पार्दै विजयी हुनुभएका ठाकुर यसपालि भने आफ्ना यसअघिका सहयोगीसँगको प्रतिस्पर्धाले ढुक्क हुने स्थिति भने नरहेको कतिपयको अड्कल छ । ठाकुरका सहयोगी फेरिएका छन् ।  कांग्रेसले त २०७४ मा पनि उहाँको समर्थन गरेको थियो, त्यो यसपालि पनि सत्ता गठबन्धनमार्फत कायम छ । गठबन्धनमार्फत नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ठाकुरका नयाँ सहयोगी बनेका छन् ।

यसअघि २०७४ मा फराकिलो अन्तरको विजय, राष्ट्रिय व्यक्तित्व र सत्ता गठबन्धनका साथ ठाकुरको अहिलेको जितका लागि मुख्य आधार लोसपाका नेता–कार्यकर्ताले मान्दै आएका छन् । 'उहाँ निष्कलङ्क छविका शीर्षनेता हुनुहुन्छ, नागरिकले साथ दिनेछन्', मटिहानी–७ का चन्देश्वर साह भन्नुहुन्छ ।

चुनाव अभियानमा अहिले सघनरूपले मतदातासँगको भेटघाटमा रहनुभएका ठाकुर पनि आफूप्रति २०७४ भन्दा बढी नागरिकको स्नेह पाएको बताउनुहुन्छ । 'म, मेरो दल र हामी आबद्ध गठबन्धन चुनाव परिणामबारे संशयमा छैनाैँ, जितप्रति ढुक्क छौँ', उहाँले भन्नुभयो, 'नागरिकको अपार समर्थन हामीसँग छ ।' महोत्तरीका नागरिकले संविधानको पुनर्लेखनको मुद्दा सम्बोधनका लागि पनि आफूलाई साथ दिने ठाकुरको विश्वास छ ।

जसपाका केन्द्रीय सदस्य यादवलाई नेकपा (एमाले) को साथ छ ।  एमाले–जसपा गठबन्धनका उम्मेदवार यादव अहिले दिनरात नभनी जनसम्पर्कमा हुनुहुन्छ । सञ्चारकर्मीसँगको कुराकानीमा यादवले आफ्नो दल र एमाले क्षेत्रका मुख्य जनआधार भएका पार्टी भएको हुँदा आसन्न चुनावको परिणाम आफ्नो पक्षमा आउने दाबी गर्नुभयो । उहाँ भन्नुहुन्छ, 'अहिले नागरिकले लयबाट व्यक्त गर्दैछन्, हेर्नुहोला, मङ्सिर ४ गते मतबाट अभिव्यक्त हुनेछ ।'

यसैगरी तमलोपाका अध्यक्ष लाल पनि नागरिकको समर्थन पाइरहेको बताउनुहुन्छ । क्षेत्रमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका उम्मेदवार पनि सघनरूपले चुनावी अभियानमा जुटेका देखिन्छ । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदमा दलका अतिरिक्त १० जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

क्षेत्रमा चुनाव प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि केही दिनमात्र बाँकी छँदा चुनावी प्रचार उत्कर्षमा देखिँदो छ । चुनाव आयोगले जारी गरेको आचारसंहिताअनुरुप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब आजबाहेक दुई दिनमात्र बाँकी छँदा यहाँका बस्ती–बस्तीमा  दल र उम्मेदवारको सघन आउजाउ बढ्दो छ ।

क्षेत्रका बस्ती–बस्तीमा दल र उम्मेदवारका चुनाव चिह्नका प्रचार गीत र नाराका स्वर जताततै सुनिन्छन् ।  दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती–बस्तीमा कोण सभाका कार्यक्रम सम्पन्न गर्दैछन् । प्रतिनिधि सभा क्षेत्रभित्रका दुई प्रदेश सभा क्षेत्रमध्ये प्रदेश सभा (१) र (२) मा क्रमशः सत्ता गठबन्धनबाट लोसपाकै अभिराम शर्मा र रानी शर्मा तिवारी उम्मेदवार हुनुहुन्छ ।  एमाले जसपा गठबन्धनबाट भने (१) बाट जसपाका दीपेन्द्र झा र (२)  बाट एमालेका पोलिटब्यूरो सदस्य रामदयाल मण्डल उम्मेदवार हुनुहुन्छ ।

प्रदेश सभा क्षेत्र (१) मा एक महिलासहित १२ उम्मेदवार छन् । जसमा आठ स्वतन्त्र हुन् । त्यसैगरी प्रदेश सभा क्षेत्र (२) मा २६ जना उम्मेदवार छन् । जसमा एक महिला हुनुहुन्छ ।  स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ रहेको जिल्लामा रहेकाे मुख्य चुनाव अधिकृतको कार्यालयका मुख्य चुनाव अधिकृत हेमबहादुर सेनले बताउनुभयो ।

यसपटक महोत्तरी–३ प्रतिनिधि सभा क्षेत्रमा ९९ हजार ९ सय ३० मतदाता कायम छन् । महोत्तरी–३ प्रतिनिधि सभा क्षेत्रभित्र ७८ मतदानस्थलमा १ सय २९ मतदान केन्द्र रहेका मुख्य चुनाव अधिकृत सेनले जानकारी दिनुभयो । अहिले सबै मतदान केन्द्रका लागि कर्मचारी (जनशक्ति) नियुक्ति गरी तालिम दिएर सम्बन्धित मतदान केन्द्र खटाइ पठाइएको मुख्य चुनाव अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया