काठमाण्डौ उपत्यकामा दुर्घटना बढ्यो

 कात्तिक ३०, २०७९ बुधबार ९:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा दुर्घटना बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि ट्राफिक प्रहरी विभिन्न जिल्लामा खटिएसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  भएको छ ।

ट्राफिक प्रहरीको संख्या कम भएसँगै सडकमा लापरबाही बढेको छ । पछिल्लो एक हप्तामा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । धेरैजसो दुर्घटना तीव्र गतिका कारण भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । यसअघि उपत्यकामा एक महिनाभरि भएको दुर्घटनामा औसतमा १५ जनाको ज्यान जाने गरेको थियो । अहिले एक हप्तामै १३ जनाको ज्यान गएको छ ।

दुर्घटनाको जोखिम अझ धेरै रहेकाले सचेत भएर गाडी चलाउन र सडकको प्रयोग गर्न प्रवक्ता भट्टको आग्रह छ । धेरैजसोले ट्राफिक प्रहरीलाई देखे मात्रै नियम पालना गर्ने गरेकाले पनि उपत्यकामा दुर्घटना बढेको हो । अहिले ट्राफिकको संख्या कम हुँदा सबै ठाउँमा सुरक्षा जाँच र कडाइ हुन सकेको छैन । यसअघि तीव्र गतिलाई रोक्न ठाउँ ठाउँमा खटिएका ट्राफिक प्रहरीले सुरक्षा जाँचमा कडाई गर्ने गरेका थिए । सुरक्षा जाँच हुन छोडेसँगै लापरबाही बढेको छ ।

ट्राफिक नियम पालना नगरी गाडी चलाउँदा दुर्घटना मात्रै होइन जाम समेत बढेको छ । उपत्यकाका हरेक ठाउँमा दिउँसो र बेलुका जाम हुने गरेको छ । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले दुर्घटना र जाम रोक्न नियमको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिनुभएको छ । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया