कुनै समय आर्थिक रुपमा धराशायी भएकाे कतार कसरी बन्याे धनी

 मंसिर ५, २०७९ सोमबार ६:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कतारको राजधानी दोहामा फिफा विश्वकप २०२२ को भव्य सुरुवात भएको छ । अबको एक महिनासम्म दोहाले विश्वको ध्यान तानिरहने छ ।

तर के तपाईंलाई थाहा छ, खाडी देश कतार कसरी यति धेरै धनी बन्यो ? एक शताब्दी पहिले सन् १९२२ मा १२ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको कतारलाई मानव बसोबासको लागि उपयुक्त मानिँदैन थियो । त्यतिबेला यहाँ आदीबासी बस्थे । तिनीहरुमध्ये अधिकांश माछा मारेर गुजारा गर्थे । यस्तै समुद्रमा मोती खोजेर जीवन निर्वाह गर्थे । यही कारणले कतारको अर्थव्यवस्था जीवित थियो ।

कतारका जो व्यक्ति अहिले आफ्नो नवौँ दशकमा छन्, उनीहरुसँग सन् १९३०–४० को भयावह आर्थिक शंकट भोगेको अनुभव छ । जतिबेला जापानले मोतीको खेती सुरु गर्यो र यसको व्यापक उत्पादन गर्न थाल्यो अनि कतारको आम्दानीको मुख्य स्रोतमा ‘ब्रेक’ लाग्यो । कतारको अर्थव्यवस्था धराशायी बन्यो । त्यही दशकमा कतारका ३० प्रतिशत नागरिक राम्रो अवसरको खोजीमा विश्वका विभिन्न देशमा पलायन भए । संयुक्त राष्ट्रसंघका अनुसार त्यसपछि कतारको जनसंख्या २४ हजारमा समेटियो ।

तर फेरि कतारको अर्थव्यवस्थामा एकाएक परिवर्तन आयो । कतारले मोतीबाट तेलमा पाइला बढायो । त्यसपछि कतार चामत्कारिक ढंगले संसारकै सबैभन्दा बढी तेल भण्डारको रुपमा अगाडि आयो । 

२० औँ शताब्दीको मध्यमा आइपुग्दा कतारले तीव्रताका साथ खनिज उत्खनन् सुरु गर्यो । त्यसैको परिणामस्वरुप अहिले कतार विश्वमै धनी देशको स्थानमा छ । कतारसँग गगनचुम्बी भवन, उत्कृष्ट कृत्रिम द्वीप र अत्याधुनिक रंगशाला छन् । विश्वका समृद्ध देशहरुको सूचीमा कतार पनि पर्छ । छोटो समयमा यति धनी देश बनेको कतारको आर्थिक क्रान्तिलाई बुझ्न यी तीन घटनालाई बुझ्नुपर्ने हुन्छ ।

सन् १९३९ मा तेलको खोजी

जब कतारमा ‘कालो सुन’ भनिने खनिज तेलको खोजी भयो तब कतार स्वतन्त्र देश थिएन । कतार बेलायती साम्राज्यको हातमा थियो । बेलायतले सन् १९१६ मा कतारमाथि आफ्नो नियन्त्रण गरेको थियो । 

कयौँ वर्षको खोजीपछि पहिलो तेल भण्डार कतारको पश्चिमी तटमा रहेको दोहाभन्दा अगभग ८० किलोमिटरको दुरीमा फेला पर्यो । तर पनि त्यसलाई व्यवसायीकरण गर्न केही वर्ष लाग्यो । अमेरिकाको बेकर इन्स्टिट्युशनमा कतार मामिलाका जानकार क्रिस्टियन कोट्सका अनुसार यो खोज दोस्रो विश्व युद्धको सुरुमा भएको थियो । जसका कारण १९४९ सम्म तेलको निर्यात हुन पाएन । 

तर विश्व युद्धलगत्तै कतारले तेल निर्यात गर्न थाल्यो । योसँगै कतारमा अवसर बढ्दै गए र तीव्रताका साथ परिवर्तन देखिन थाले । आधुनिकीकरणले छुन थाल्यो कतारलाई । 

कतारको तेल उद्योगप्रति आकर्षित भएर विदेशी लगानीकर्ता कतार आउन थाले । योसँगै कतारको जनसंख्यामा वृद्धि हुन थाल्यो । १९५० मा जनसंख्या २५ हजार भन्दा कम भएकोमा १९७० मा पुग्दा एक लाख नाघ्यो । 

जुन देश कुनै समय माछा मार्ने र मोती खोज्ने कामबाट चल्थ्यो त्यस ठाउँको कुल ग्राह्यस्थ उत्पादन १९७० मा आइपुग्दा तीन सय मिलियन अमेरिकी डलरभन्दा धेरै भयो । त्यसको एक वर्षपछि बेलायती शासनको अन्त्य भयो र कतार एक स्वतन्त्र देश बन्यो । योसँगै यहाँ एक नयाँ युगको सुरुवात भयोे, जसले कतारलाई झनै धनी बनायो ।

प्राकृतिक ग्यासको खोजी

जब १९७१ मा इन्जिनियरको टिमले कतारको पूर्वि तटदेखि पर उत्तरी भूमिमा विशाल प्राकृतिक ग्यास भण्डारको खोजी गरे तब कमैले यसको महत्वबारे बुझेका थिए । यो बुझ्नमा १४ वर्ष र दर्जानौँ प्रयास गर्नुपर्यो । उत्तरी भूमिको त्यो ग्यास भण्डार विश्वकै ग्यास भण्डारको दश प्रतिशत हो । योसँगै कतार इरान र रुसपछि दोस्रो ठूलो प्राकृतिक ग्यास भण्डार भएको देश बन्यो । उत्तरी भूमिको क्षेत्रफल ६ हजार वर्ग किलोमिटर छ, जुन पूरै कतारको आधा भाग हुनपुग्छ । ‘कतार ग्यास’ विश्वमै सबैभन्दा बढी तरल प्राकृतिक ग्यास उत्पादन गर्ने कम्पनी बनेको छ । यही कम्पनीले नै कतारको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । तर तेल जस्तै ग्यासबाट आम्दानी गर्न पनि कतारलाई धेरै समय खर्चिनुपर्यो । 

कतार मामिलाका जानकार कोट्सका अनुसार लामो समयसम्म ग्यासको माग खासै थिएन । तर ८० को दशकमा धेरै कुरामा परिवर्तन हुन सुरु भयो । देशभित्रै यसलाई वितरण गर्न थालियो र ९० को दशकमा कतारले यसको निर्यात गर्न थाल्यो । जसले कतारको अर्थव्यवस्थालाई अगाडि बढाउन इन्जिनको रुपमा काम गर्यो ।

१९९५ को विद्रोह

कतारको आर्थिक विकास दरको ग्राफले २१ औँ शताब्दीको सुरुवातसँगै ठूलो फड्को मार्यो । सन् २००३–०४ मा कतारको कुल ग्राह्यस्थ उत्पादनको दर बढेर ३ दशमलव ७ बाट १९ दशमलव २ प्रतिशत भयो । दुई वर्षपछि सन् २००६ मा त्यो बढेर फेरि २६ दशमलव २ प्रतिशत पुग्यो । 

हमाद बिन खलिफा

यसरी बढ्दै गएको जीडीपी दर कतारको ताकत र पहिचान बन्यो । तर यसरी जीडीपीको बढ्दो दरलाई ग्यासको मूल्यमै सीमित राख्न सकिँदैन । अर्थशास्त्री तथा कतार विश्वविद्यालयका प्रोफेसर मोहम्मद सईदीका अनुसार कतारमा राजनीतिक परिवर्तन हुन थालेसँगै आर्थिक परिवर्तन पनि भएको हो । सन् १९५५ मा वर्तमान आमिर तमीम बिन हमद अलथानीका बुवा हमाद बिन खलीफा अलथानीले सत्ता सम्हाल्नुभयो । तर यसलाई कतिपयले विवादित घटना पनि भन्छन् ।

हमाद बिन खलीफा अलथानी आफ्ना बुवा स्विटजरल्याण्डको भ्रमणमा गएको बेला विद्रोह गरेर सत्तामा आउनुभयो । तर सत्ता हत्याउन गरिएको यो पहिलो विद्रोह थिएन । अलथानी परिवार कतारमा डेढ सय वर्षदेखि शासन गर्दै आएको छ । त्योबीचमा यस्ता घटना धेरै पटक भएका छन् । तर यो सत्ता परिवर्तनले भने कतारको अर्थव्यवस्थामा ठूलो परिवर्तन ल्याएको ठानिन्छ ।

त्यसपछि ग्यास तथा तेलको उत्खनन्मा गरेको लगानी, तरलीकरण र यसको निर्यातको लागि तयार गरिएका पूर्वाधारले कतारलाई विश्वसँग जोड्यो । सन् १९६६ मा तरल प्राकृतिक ग्यासले भरिएको एक ठूलो जहाज जापानतर्फ गयो । त्यो नै कतार ग्यासको लागि पहिलो ठूलो निर्यात थियो । यहीँबाट कतारमा अरबौँ डलरको उद्योगको सुरुवात भयो । जसले कतारलाई वैश्विक सम्पदाको उचाइमा पुर्यायो । २०२१ मा कतारमा प्रतिव्यक्ति जीडीपी ६१ हजार २७६ अमेरिकी डलर थियो । यसको एक कारण कतारको जनसंख्या थोरै हुनु पनि हो । कतारको जनसंख्या लगभग तीन देखि साढे तीन लाखको आसपास छ । जसमध्ये अधिकांश प्रवासी छन् । कतार सरकार आफ्ना नागरिकलाई धेरै तलब, गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रदान गर्छ ।

कतारको अर्थव्यवस्थाको चुनौती

अहिले केही वर्षयता कतारको अर्थव्यवस्था घाटामा देखिएको छ । भविष्यमा यसको अगाडि केही चुनौती छन् । जसमध्ये कतार इन्धनमाथिको निर्भरता र जलवायु प्रभावलाई लिएर चिन्तित छ । 

कतार विश्वविद्यालयका प्रोफेसर सईदीका अनुसार सन् २०१३ र २०१४ मा तेलको मूल्यमा गिरवाट आयो र आयको स्रोत बदल्नुपर्ने चर्चा कतारमा मुख्य विषय बन्यो । यस्तै कतारसँगको कुटनीतिक विवादपछि साउदी अरब, यूएई, बहराइन तथा इजिप्टले सन् २०१७ र २०२१ का बीच नाकाबन्दी गरेको थियो । जसले कतारको अर्थ व्यवस्थालाई ठूलो चुनौती दियो ।

कोट्सका अनुसार कतारले ग्यास र तेलबाहेक आर्थिक कमाइको मार्ग खोजेको छैन । त्यसैले अहिले कतार निजी क्षेत्रलाई फैलाउन चाहन्छ । हाइड्रो कार्बन अर्थात् तेलमाथिको निर्भरताबाट छुटकारा पाउन कतारले निजी क्षेत्रमा लगानी बढाएको छ । यो प्रयासको राम्रो उदाहरण लण्डन र न्यूयोर्क जस्ता ठूला सहरमा केही प्रसिद्ध सम्पत्तिमा कतारले गरेको लगानी तथा हिस्सेदारी हुनसक्छ ।

अमेरिकाको बेकर इन्स्टिट्युशनमा कतार मामिलाका जानकार क्रिस्टियन कोट्स कतारले दोहालाई कन्फ्रेन्स र बैठक हब बनाउने बताउनुहुन्छ । उहाँका अनुसार विश्वकप आयोजना यसको एक ठूलो उदाहरण हो ।

कतारले विश्वकप आयोजनाको लागि दुई लाख मिलियन अमेरिकी डलर भन्दा धेरै खर्च गरेको छ । जो इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी महंगो फिफा विश्वकप हो । यसमा आठ रंगशाला, एक नयाँ विमानस्थल र एक नयाँ मेट्रोलाइन जस्ता पूर्वाधान निर्माण गरिएका छन् ।

जसरी कतारले पूर्वाधार तयार गरेको छ, विवादित पनि उत्तिकै छ । यसको निर्माण कार्यमा नेपाल, भारत तथा बंगलादेशलगायत देशका श्रमिकलाई अमानवीय रुपमा प्रयोग गरियो र हजारौँको ज्यान गयो भन्ने आरोप कतारमाथि लागेको छ । यस्तै सन् २०१० मा कतारले घुस दिएर फिफा विश्वकप आयोजना आफ्नो पोल्टामा पारेको आरोप पनि कतारलाई लाग्दै आएको छ ।

यस्तै, केही समय पहिले मात्रै कतारी अधिकारीहरुले एलजीबीटी समुदायको विषयमा दिएको विवादित वयानले कतारलाई विश्वभरबाट प्रश्नहरुको मार खेपिरहनुपरेको छ । 

तर जे भए पनि यी आलोचना र आरोपकै बीच कतार अर्थतन्त्र, विकास र प्रविधिमा उदाएको छ । एउटा सानो देशको लागि फिफा विश्वकप आयोजना निकै ठूलो कुरा हो । साथै छोटो समयमा समृद्धिको स्वाद चाखेको कतारले अत्याधुनिक र प्रगतिशील छवि देखाउँदै आफूलाई भूराजनीतिक खेलाडीको रुपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

(उज्यालाेका बेदानन्द जोशीद्वारा बिबीसी हिन्दीबाट अनुवाद गरिएको)


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया