पशुपतिमा महादीपदान गर्ने भक्तजनको बिहानैदेखि चहलपहल

 मंसिर ५, २०७९ सोमबार ११:४१:३० | रासस
unn.prixa.net

काठमाण्डौ - दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ।

यस अवसरमा पशुपति क्षेत्रमा महादीपदान गर्न लाखौँ भक्तजन आउने भएकाले ठाउँ लिन बिहानैदेखि भक्तजनको चहलपहल बढेको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

त्रयोदशीका बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १ सय ८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन्। सतबीज भनिए पनि अहिले सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।

हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार सतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने मान्यता छ । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा आज बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । पशुपति क्षेत्रमा आज लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको उहाँले सुनाउनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया