भाेजपुर : एमालेका शेरधन राईलाई पराजित गर्दै माओवादीका सुदन किराँती विजयी

 मंसिर ८, २०७९ शुक्रबार ४:२:३५ | रासस
unn.prixa.net

भाेजपुर – भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा सुदन किराँती विजयी हुनुभएकाे छ । प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका किराँती विजयी हुनुभएको हाे । उहाँले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गर्नुभएको हो । 

किराँती तेस्रो पटक सांसदमा विजयी हुनुभएको हो । उहाँले २८ हजार पाँच सय ७८ मत प्राप्त गर्नुभयो भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा १ मा सात तथा प्रदेशसभा २ मा छ उम्मेदवारले निर्वाचनमा भाग लिनुभएको थियो ।

भोजपुरमा प्रदेशसभा १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । उहाँले १६ हजार एक सय १० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत ल्याउनुभएको छ ।

यस्तै प्रदेशसभा २ मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकतर्फको मतगणना शुक्रबारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया