काभ्रेकाे बनेपाबाट हराएको बुद्धको मूर्ति ४८ वर्षपछि भेटियो

 मंसिर ९, २०७९ शुक्रबार ६:४९:९ | रासस
unn.prixa.net

तस्बिर : रासस

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा भेटिएको छ । हराएको योमूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ ।

बहिटोलबाट हराएको बुद्धमूर्ति आउँदाे बुधवार बाजागाजासहित स्थानीय बासिन्दा र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउँमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले बताउनुभयो । प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।  

मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समय अघि नै काठमाण्डौमा रहेको राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको सूचना पाए पछि अहिले ल्याउने तयारी थालिएको भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभयो। पुरातत्व विभागको सक्रियतामा मन्दिरको पुनः निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापन गर्न लागिएको उहाँको भनाइ छ ।

मूर्ति हराउनु पूर्व मन्दिरको अवस्था र व्यवस्थापन प्रभावकारी नभएकाले मूर्ति हराएको स्थानीयवासीको भनाइ छ । पुरातत्व विभागले  एक करोड रुपैयाँको लगानीमा मन्दिरको पुनः निर्माण गरेको छ ।

आउँदाे दिनमा मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामरा, मजबुत संरचनालगायतको व्यवस्थापन गरिएको श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया