कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने शाहीको राजनीतिक यात्रा

 मंसिर ९, २०७९ शुक्रबार २१:५४:५९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जित निकाल्दै सङ्घीय सांसदमा चुनिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गर्नुभएको छ । उहाँले  २०७० मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भइ कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो । यसपटक यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा उहाँले वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार भइ फराकिलो जित हासिल गर्नुभएको छ ।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका शाही तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको शुरुआती कालदेखि नेता हुनुहुन्छ । तत्कालीन माओवादीको जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत रहनु भएका नेता शाही कालीकोटमा मात्रै नभइ समग्र कर्णाली प्रदेशमै स्थापित नेता हुनुहुन्छ ।

विसं २०७० को दोस्रो संविधानसभाको चुनावमा उहाँले  नेकपा (एमाले)का कुर्मराज शाहीलाई पराजित गर्नुभएको थियो । विसं २०७४ मा भएको चुनावमा उहाँले प्रदेश सभा सदस्यमा कांग्रेसका कालिबहादुर सहकारीलाई २ हजार ८ सय मतले पराजित गर्नुभयो ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको चुनावमा नेता शाहीले कुल २४ हजार ४ सय ३७ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेशनलले १६ हजार २ सय ३० मत प्राप्त गर्नुभयो ।

कर्णाली प्रदेशको पनि पछाडि परेको कालीकोटमा लगातार उहाँको विजयले मुलुकको राष्ट्रिय राजनीतिमा कर्णालीको सबल नेताका रुपमा शाहीलाई स्थापित गरिदिएको छ । त्यसो त कालीकोटबाट लगातार जित निकाल्ने सीमित नेतामध्ये शाहीको नामसमेत अङ्कित भएको छ ।

जानकारका अनुसार यसअघि पञ्चायत कालमा रास्कोटका धर्मदत्त उपाध्याय लगातार तीन पटक सांसद हुनुभएको थियो । विसं २०४६ को आन्दोलनपछि स्थापना भएको बहुदलीय प्रजातन्त्रसमेतमा कुनै पनि नेताले लगातार विजयी हुने अवसर पाएका थिएनन् ।

कालीकोटको इतिहासमा २०४८ सालमा नेपाली कांग्रेसका तिलक न्यौपाने, २०५१ सालमा भएको मध्यावधि चुनावमा एमालेका यज्ञराज न्यौपाने, २०५६ मा एमालेकै प्रेमबहादुर सिंह र २०६४ मा गणतन्त्र स्थापनापछि पहिलो पटक भएको संविधानसभाको चुनावमा माओवादीका खड्गबहादुर विश्वकर्माले जित हासिल गर्नु भएको थियो ।

माओवादीका पोलिटब्यूरो सदस्य शाही कालिकोटको पचालझरना गाउँपालिका नौ साविकको नानीकोट गाविस–८ मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौंडा शाहीको दोस्रो सन्तानका रुपमा जन्मिनु भएको हो । उहाँले २०४८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र)को सदस्यता लिनुभयो ।  माओवादी जनयुद्धमा उहाँ पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभएको थियो ।

नेता शाहीले सेना समायोजनको क्रममा राजनीतितर्फ लाग्ने निर्णय गर्नुभयो । संविधानसभा सदस्यका रुपमा उहाँ तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने मध्येका एक हुुनुहुन्छ । संविधानसभा सदस्य एवम् पूर्वऊर्जामन्त्री र कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री शाहीले पछाडि परेको कालीकोटलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने चुनौती छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया