३१ वर्षपछि कालीकोटमा कांग्रेसको जित

 मंसिर १०, २०७९ आइतबार ५:२:३७ | रासस
unn.prixa.net

काठमाण्डौ – पछिल्लो ३१ वर्षमा देशमा सात वटा चुनाव भए । यसअघिका छ वटा चुनावमा कालीकोटमा नेपाली कांग्रेसले एक पटक मात्रै जित हासिल गरेको थियो । 

विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपाने विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सकेको थिएन । तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित हुनुभएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जित दिलाउन सफल हुनुभएको छ ।

तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिस्ट कांग्रेसका न्यौपानेबाट २ सय ८६ मतले पराजित हुनुभएको थियो । न्यौपानेले ८ हजार ८ मत ल्याउँदा विष्टले ७ हजार ७ सय १७ मत ल्याउनु भएको थियो ।

यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा चुनावमा विष्टले कालीकोट प्रदेशसभा ‘ख’ सदस्यमा १३ हजार ७ सय ८३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बीरेन्द्रबहादुर बोगटी ५ हजार ८ सय ३८ मत प्राप्त गर्नुभयो ।

विसं २०५१ सालको मध्यावधि चुनावमा कांग्रेस उम्मेदवार तिलकप्र्साद न्यौपाने एमालेका यज्ञराज न्यौपानेसँग पराजित हुनुभएको थियो भने २०५६ सालको चुनावमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गर्नुभएको थियो । साथै, २०६४ सालको संविधानसभा चुनावमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गर्नुभएको थियो ।

विसं २०७० को प्रतिनिधिसभा चुनावमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गर्नुभएको थियो । तर २०७९ सालको प्रदेश सभा चुनावमा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ ।

‘प्रदेशसभा सदस्यमा कांग्रेसले जित निकाल्न सफल भएको छ,’ कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भन्नुभयो, ‘३१ वर्षपछि कालीकोटमा कांग्रेसको जितले निकै खुसी बनाएको छ ।

’वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जित निकालेको कांग्रेस महासमिति सदस्य नारायण प्रसाद भट्टराईले बताउनुभयो 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया