मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाण्डाैमा : मन्त्री चौधरी

 मंसिर १४, २०७९ बुधबार १६:२३:२८ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक – खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज बुधवार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाण्डाैमा पानी वितरण सुरु गरिने बताउनुभएको हो ।

गएकाे जेठ दोस्रो हप्तादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमवारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको झन्डै १० देखि १२ दिनपछि काठमाण्डाै पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको 'हेडबक्स' (बाँधस्थल) हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो । 

उहाँले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताउनुभयो । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताउनुभयो । उहाँले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकाेमा खुसी पनि व्यक्त गर्नुभयो । निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले माथिको जलाधार संरक्षण र बाढी– पहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको बताउनुभयो । अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब झन्डै ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने बाह्रै महिना पानी लैजान सकिने सचिव गेलालले बताउनुभयो । 

निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताउनुभयो । उहाँले हेलम्बु गाउँपालिकालगायत पालिकाले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिनुभयो । निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्‍याएका संरचना पुनर्निर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समाधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया