नेपाल एअरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै

 मंसिर १५, २०७९ बिहिबार १७:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएको जनाइएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार साताको दुई दिन (आइतबार र मङ्गलबार) काठमाण्डाै–दोहा–भैरहवा–काठमाण्डौ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाण्डौ आउनेछ ।

यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाण्डाै–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ ।

पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो । तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एअरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया