भरतपुर र आँबुखैरेनी जोड्ने पुल निर्माणमा ढिलाइ : आठ वर्षमा ४० प्रतिशत काम

 मंसिर १६, २०७९ शुक्रबार १३:२७:१४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन - चितवनको भरतपुर महानगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।

पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ।

निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनियर विकेश लागेले बताउनुभयो । पुल निर्माणका लागि चार पटकसम्म म्याद थप भइसकेको पनि उहाँले जानकारी दिनुभयो।

पुल निर्माणको जिम्मा हेटौँडाको मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो । पछिल्लो पटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्म छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिने इञ्जीनियर लागेले बताउनुभएको छ।

एक सय पाँच मिटरको आर्क डिजाइनको पुल भ्याटसहित नौ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । पुल निर्माण सम्पन्न भएपछि नारायणगढबाट दमौली आवतजावतमा अहिलेको नारायणगढ–मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ।     

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया