चितवनका दर्जनभन्दा बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

 मंसिर २२, २०७९ बिहीबार १०:५:५८ | रासस
unn.prixa.net

चितवन - कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक हप्ता भयो । 

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाउनुभएको छैन । 'फोन सम्पर्क नहुँदा मन आत्तिन्छ', उहाँले भन्नुभयो', 'यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।'

भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमानसँग सहजरुपमा कुरा गर्न नपाएको बताउनुहुन्छ । 'सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन', उहाँले भन्नुभयो । 

इच्छाकामना गाउँपालिका–१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताउनुभयो । 'मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन, उहाँले भन्नुभयो', 'भएको ठाउँमा पनि नेटवर्क समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।' उहाँले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताउनुभयो । यस वडामा प्रायजसाे चेपाङ समुदायको बसोबास रहेको छ ।

नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । 'यसै त भौगोलिकरुपमा पछि परेको ठाउँ हो हाम्रो, वडाध्यक्ष मगरले भन्नुभयो', 'विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।'

इच्छाकामना–१ चौकीडाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाउँबाट कालीका नगरपालिकातर्फ फर्कनुपर्ने बताउनुभयो । उहाँले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गर्नुभयो । उहाँले नेट इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रुपमा फोन गर्न पाए पनि खुसी हुने बताउनुभयो । 'अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पुर्याउन पाइँदैन, उहाँले भन्नुभयो', 'लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।'

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो, 'मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।' उहाँले गाउँबाट चार सयभन्दा बढीको हस्ताक्षर सङ्कलन गरेरसमेत टेलिकममा बुझाइएको बताउनुभयो । नेटवर्कको समस्याका कारण स्कुलमा वाइफाइ जडान गर्न सकिएको छैन । 'गाउँपालिकाले वाइफाइ जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुपर्यो', उहाँले गुनासो गर्नुभयो ।

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाउँपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताउनुभयो । उहाँले कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिनुभयो । उहाँले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताउनुभयो । उहाँले वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिनुभयो । यस्तै वडा नम्बर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताउनुभयो  । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उहाँले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया