पश्चिम सेती र पञ्चेश्वर बनेपछि समृद्धि आउने छ : प्रधानमन्त्री देउवा

 मंसिर २२, २०७९ बिहिबार १८:३५:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताउनुभएको छ । 

आज बिहीवार धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । 

पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिँदै उहाँले विकासका लागि प्रदेश सरकार र पालिकाबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । कोरोना महामारीले थला परेको उद्योग, व्यवसायलाई माथि उठाउन सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको कृषि तथा पर्यटन विकासका लागि महोत्सवले टेवा पुर्‍याउने बताउनुभयो । यस क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशको विकासका लागि महोत्सवले टेवा पुर्‍याउने बताउनुभयो ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उद्योग व्यवसायलाई सशक्त र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको दाबी गर्नुभयो । देशमा पुँजी परिचालन अपेक्षाअनुसार हुन नसक्दा समस्या भइरहेको उहाँको भनाइ थियो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा लगानी भित्र्याउनका लागि लगानीकर्तालाई जग्गाको उपलब्धता, लगानीको सुनिश्चितता र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताउनुभयो । 

समारोहमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गर्नुभयो । त्यस अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रधानमन्त्री देउवाले सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नारासहित सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा झन्डै चार सय व्यापारिक कक्ष राखिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना हुँदै आएको छ । महोत्सव कोरोना महामारीका कारण भने विगतमा दुई वर्ष हुन सकेको थिएन ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया