कर्णालीमा हवाई यात्रकाे सहज पहुँच नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग

 मंसिर २४, २०७९ शनिबार १६:५१:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत – कर्णालीमा हवाई यात्रकाे सहज पहुँच नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ ।

दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज आवागमनका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको बताउनुभयो ।

“गमगढीसम्म सडक जोडिए पनि भौगोलिक विकटता र जीर्ण सडकले यातायात नियमित र व्यावसायिक हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँका बिरामी, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित रारा आउने पर्यटकका लागि यातायातको एकमात्र विकल्प हवाई यातायात हो ।”

यसमा अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा सेवारत नेपाल एअरलायन्स, सीता, तारा र समिट एअरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ । मुगुलगायत माथिल्लो कर्णालीका सबै जिल्लाका यात्रुको चापको अनुपातमा नियमित हवाई उडान र त्यसका लागि एयरलायन्सको हवाई टिकट वितरण अनलाइन प्रणालीमार्फत हुन सकेमात्र यहाँका नागरिकलाई सहजता मिल्ने प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो ।

अनलाइन टिकट वितरण सञ्चालनमा ल्याउन जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सर्वदलीय बैठक बसेरै यसअघि निर्णय गरिसकेको बताउनुभयो । कर्णालीको हवाई उडानको समस्या सामाधानका लागि पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले गत असोज ३० गते संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत सरोकारवालालाई ध्यानाकर्षणसहित मागपत्र बुझाएको थियो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया