पाल्पा : ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

 मंसिर २८, २०७९ बुधबार १३:४४:५७ | रासस
unn.prixa.net

तस्बिर : रासस

पाल्पा - शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो । 

'बिहान बेलुकाको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ', उहाँले भन्नुभयो, 'मैले सिकेको सिप अन्य महिलालाई पनि सिकाउने गरेको छु' । उहाँ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ढाका बुन्नमा व्यस्त हुनुहुन्छ । ढाका बुनेर एक महिनामा २० हजार रुपैयाँसम्मको कमाइ हुने गरेको उहाँले बताउनुभयो । जीवन जिउन पहिलेदेखि धेरै सङ्घर्ष गर्नुभएकी उहाँ आफू मात्रै स्वरोजगार नभइ गरिब, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिने गर्नुहुन्छ । घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यवसाय महिलालाई धेरै सहज भएको उहाँ बताउनुहुन्छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पा तथा स्थानीय ढाका उद्योगमा सिप सिक्नुभएकी उहाँ दुई वर्ष अघिदेखि पाल्पाको तानसेनमा रहेकाे स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा ढाका बुन्ने गर्नुहुन्छ । सानो सिप भए पनि तल्लिन भएर निरन्तर काम गरियो भने ढाका बुनेर राम्रै कमाइ गर्न सकिने उहाँको अनुभव छ । तानसेन नगरपालिका १२ बौघापोखराथोककी धनी थापाले पनि अहिले एक वर्ष अघिदेखि ढाका बुनेर आफ्नो खर्च जुटाउन थाल्नुभएको छ । दिनभर घरमै फुर्सदमा बिताउने थापालाई ढाका बुनाइले व्यस्त बनाएको छ । तानसेन बजारमा कोठा भाडामा लिएर ढाका उद्योगमा काम गर्ने अवसर पाउँदा उहाँमा आत्मबल बढ्दै गएको छ । 

माथागढी गाउँपालिका–३ सराईका खिमकुमारी गाहाले ढाका बुनाइलाई नै प्राथमिकता दिएर आठ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ । तानसेन बजारमा भाडामा बसेर दिउँसोको समय ढाका बुन्ने त्यसैबाट आर्जन गरेको रकमले परिवार पाल्ने गर्नुहुन्छ । आफूले यस क्षेत्रमा काम गर्न थालेपछि आर्थिक क्षेत्रमा अरुको निर्भर रहनु नपरेको गाहा बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, 'हातमा सिप भयो भने जहाँ बसेर पनि जीवन धान्न सकिन्छ, ढाकाको सिपले मलाई आत्मनिर्भर बनाएको छ, दुई चार पैसाका लागि अरुसँग हात थाप्नुपरेको छैन, आफैँले कमाउन सुरु गरेपछि कसैको तनाव भएन ।' तानसेन–६ बर्तुङ बस्ने सानु केसीको ढाका सारीमा नयाँ नयाँ बुट्टा, डिजाइन राखेर तयार पार्ने राम्रो कला छ । ढाकाका सबैजसो कपडा बुन्ने गरे पनि सारी बुन्न उहाँ बढी मन पराउनुहुन्छ ।  ढाका बुनाइसम्बन्धी तीन महिनाको सिप विकास तालिम लिनुभएकी उहाँ तानमा बसेर ढाका बुन्न थालेपछि सिप वृद्धिसँगै आयआर्जनको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउनुहुन्छ । 
       
'पछिल्लो समय ढाकाका सारी प्रयोग गर्ने बढ्दै गएका छन्, ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइन भरेर सारी तयार पार्ने गरेको छु, तानमा बसेर ढाका बुन्दा आनन्द लाग्दछ', उहाँले भन्नुभयो । रिब्दिकोट गाउँपालिका–६ ठिमुरेकी विष्णु पुलामी छोराछोरी पढाउन सदरमुकाम तानसेनमा भाडामा बस्नुहुन्छ । दुई जना छोराछोरीको भविष्य उज्ज्वल बनाउन उचित शिक्षाको खोजीमा पाल्पा सदरमुकाम तानसेनमा भाडामा बस्नुभएकी उहाँलाई ढाका कपडा बुनाइले भुलाएको छ । 
       
बिहान बेलुका छोराछोरीको स्याहारसुसारमा व्यस्त रहने उहाँ छोराछोरीलाई स्कुल पठाएपछि दिउँसोको समय ढाका बुनाइमा खर्चनुभएको छ । उहाँका श्रीमान् शिक्षण पेसामा गाउँमै कार्यरत हुनुहुन्छ । ढाका कपडा बुनाइमा संलग्न हुन थालेपछि सामान्य खर्चका लागि श्रीमानकाे हात थाप्नु नपरेको उहाँले बताउनुभयो । 
       
ढाका कपडा बुनेबापत एक मिटरको तीन सय रुपैयाँदेखि चारसयसम्म कामदारले ज्याला बुझ्ने गर्छन् । हातको सिपले फुर्सदिला महिलालाई रोजगार गर्ने माध्यम ढाका कपडा बुनाइ बनेको छ । पछिल्ला वर्षमा सदरमुकाम तानसेनमा सञ्चालनमा रहेका विभिन्न ढाका उद्योगमा पाल्पाका धेरै महिला संलग्न छन् । बेरोजगार, विपन्न, फुर्सदिला महिलालाई ढाका उद्योगले स्वरोजगारको अवसर सिर्जना गरेको छ ।

स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगका सञ्चालक पूर्णमाया महर्जनले अहिले दैनिक दुई दर्जनभन्दा बढी महिलालाई रोजगार दिएको बताउनुहुन्छ । पाल्पामै पहिलो ढाका उद्योग सञ्चालन गर्नुभएकी महर्जनले स्वरोजगार बनाउन महिलालाई सिप सिकाएर आफैँले उद्योगमा काम गर्ने अवसर दिनुभएको छ । 
       
'महिला आर्थिक क्षेत्रमा अब्बल नहुँदा घरपरिवार, श्रीमानकाे अवहेलना सहनुपरेको छ, मैले महिला कामदारलाई मात्रै प्राथमिकता दिएर उद्योगमा तान बुन्न दिने गरेको छु, अहिलेसम्म पाँच हजारभन्दा बढी महिलाले सिप सिकिसकेका छन्', महर्जनले भन्नुभयो । उहाँको उद्योगमा एक सय वटा विभिन्न खालका तान तयारी अवस्थामा छन् । पित्लुम (खाल्डेतान), हेण्डलुम, हाते जेकार्ड, हातेतान लगायतका तानमा बसेर महिलाले ढाका कपडा तयार पार्ने गरेका छन् । पाल्पाकै पहिलो र पुरानो उद्योग भएकाले यहाँ नयाँ पुराना सबैजसो तान चलनचल्तीमा आएका छन् । 

यस उद्योगमा नेपालका ३६ जिल्लाबाट सिप सिक्न आएर आफ्नो सिप विस्तार गरेका छन् । बिहानदेखि बेलुकासम्म उद्योगमा कामदार नियमित खटिरहेका हुन्छन् । आफूले जति धेरै उत्पादन गर्न सकियो त्यहीअनुसार आम्दानी हुने भएकाले बिहानदेखि बेलुकासम्म निरन्तर ढाका बुन्नमा महिला व्यस्त बनिरहेका हुन्छन् । उद्योगका व्यवस्थापक मोहन हेम्चुरीका अनुसार यहाँ एक महिनामा तीन सय मिटरभन्दा बढी ढाका कपडा उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको कपडा नेपालभर पुग्ने गरेको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया