चारतारे होटलको ‘किचन’ मा महिला सेफ

 मंसिर २९, २०७९ बिहीबार ८:५५:१३ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपालमा सञ्चालित प्रायजसाे तारे होटलमा पुरुष कार्यकारी सेफ रहे पनि ठमेलमा रहेकाे एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफको रूपमा नेतृत्व गर्नुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा रहेकाे भेटघाट चोकमा जन्मनुभएकी कार्यकारी सेफ भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलमा रहेकाे अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाण्डौको किचनको नेतृत्व सम्हाल्नुभएको हो । उहाँ रमदाको कन्टिनेन्टल सेफ हुनुहुन्छ ।

२०४३ सालमा बुबा विश्वनाथ शाह र आमा शान्तिदेवी शाहको ज्येष्ठ सुपुत्रीका रूपमा जन्मनुभएकी शाहले स्कुल शिक्षा सुनसरीमा रहेकाे पाथिभरा इङ्लिस बोर्डिङ स्कुलबाट पूरा गर्नुभयो । आफ्नो परिवार व्यापार–व्यवसायमा आबद्ध भए पनि उहाँ भने सेफ पेसामा आबद्ध हुनुभयो ।

गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कुल अफ बिजनेश म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गर्नुभएकी शाहले सन् २००६ देखि सेफ पेसा सुरु गर्नुभएको हो ।

'मलाई बुबाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो', उहाँले भन्नुभयो । आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको सङ्ख्या एकदमै कम भएको उहाँको भनाइ छ ।

शाहले सन् २००६ मा भारतको गोवामा रहेकाे द ललित होटलमा सेफसम्बन्धी इन्टर्नसीप गर्नुभएको हो । इन्टर्नसीपसँगै द पार्क होटल बिशाखापट्टनम भारत, नोभोटेल होटल हैदराबाद भारत, अमनबाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उहाँसँग छ । 

सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने शाहले कार्यकारी सेफको रूपमा नै काम गर्नुभएको थियो । 'प्रायजसाे तारे होटलका किचनमा पुरुष सेफमात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेको हुँ, म मेरो पेसा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ हुँ भन्दा गर्वको अनुभूति हुन्छ', उहाँले भन्नुभयो ।

कोरोनाको समयसँगै काठमाण्डाै महानगरपालिका–१६ ठमेलमा दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको रमदामा अहिले ९० कोठा रहेका छन् । नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन् ।

होटलका महाप्रबन्धक महेश फुँयाल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत् स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउनुहुन्छ । 'एउटा रेष्टुराँमार्फत् स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत् पानेसियन र इण्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ', उहाँ भन्नुहुन्छ ।

नेपाली सेफहरुको छाता संस्था सेफ एसाेसिएशन अफ नेपालमा अहिले एक हजार पाँच सय सेफ आबद्ध छन् । २०५३ सालमा स्थापना भएको एसाेसिएशनले नेपाली सेफको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एसाेसिएशनका अध्यक्ष श्यामबहादुर लामा सेफमा आबद्ध एक हजार पाँच सय सेफमध्ये जम्मा १५ जनामात्र महिला सेफ आबद्ध भएको बताउनुहुन्छ । महिला सेफ एसाेसिएशनमा आबद्ध कुल सेफ सङ्ख्याको एक प्रतिशतमात्र हो ।

'एसाेसिएशनमा आबद्ध महिला सेफ नेपाली रेष्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ अहिलेसम्म कोही महिला सेफ भएका छैनन्', उहाँ भन्नुहुन्छ ।

ग्लोबल नेप्लीज सेफ फेडेरेशनका अध्यक्ष एवम् वरिष्ठ सेफ लक्ष्मणप्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफका लागि गर्वको कुरा भएको बताउनुहुन्छ । आउँदाे दिनमा महिलालाई सेफमा अगाडि बढाउन सेफसम्बन्धी संस्थाले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

होटल एसाेसिएशन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफको सङ्ख्या एकदमै न्यून रहेको बताउनुहुन्छ । 'नेपाली होटलमा विदेशी महिला सेफले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ बनेको पाइँदैन', उहाँ भन्नुहुन्छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया