मुस्ताङको थासाङमा दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन

 पुस १, २०७९ शुक्रबार ८:३३:२३ | रासस
unn.prixa.net

मुस्ताङ - मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एअरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ ।

गएकाे जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको ज्यान गएकाे थियाे। भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोँच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एअरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान सङ्कलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिनुभयो । 

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । 'दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो', उहाँले भन्नुभयो, 'विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान सङ्कलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ ।'

दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेलामै फेला परेको थियो । शेरचनको नेतृत्वमा २०७२ सालफागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एअरको जहाजका पाटपुर्जा सङ्कलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् ।

बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान सङ्कलन गर्ने गरिन्छ । मङ्सिर पहिलो हप्ता तारा एअरको टोलीले जहाज दुर्घटनास्थलको हेलिकप्टरबाट अवलोकन गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया