एक भारी घाँसकै लागि आधा दिन

 पुस २, २०७९ शनिबार ११:४८:३५ | रासस
unn.prixa.net

फाइल तस्बिर

नवलपरासी - पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुग्नुभयो । काम गर्नसक्ने उमेरदेखि घरमा पालिएका गाई भैँसीलाई घाँस काट्न सुरु गर्नुभएकी उहाँलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ । गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ । 

नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहोे गर्न पालेका बस्तु भाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ । बिहान नौ बजे नै हतार हतार खाना खाएर घाँसपात काट्न हिँड्नेहरुलाई घाँसको भारी बोकेर फर्कन पाँच/छ घण्टा लाग्ने कावासोती–१ की लालमाया दलार्मीले बताउनुभयो । 

'घर नजिकैको वनमा घाँसपात काटे जरिबाना तिर्नपर्छ, गाई बाख्रा पाल्नै पर्यो, घाँसकै लागि आधा दिन बिताउनुपर्छ', उहाँले भन्नुभयो । सुकुम्बासी बस्ती भएकाले यस ठाउँका प्रायजसाे परिवारसँग खेतीपाती गर्ने जमिनसमेत छैन । यो बस्तीको आम्दानीको स्रोत भनेकै गाई, बाख्रा, कुखुरा, बङ्गुरलगायतका घरपालुवा जनावर हुन् । गाई र बाख्राका लागि घर नजिकै चरनसमेत नभएकाले घाँसकै लागि आधा दिन खर्चिनुपरेको गमीसरा घर्तीले बताउनुभयो । 'घर नजिकै बस्तु चराउने ठाउँ छैन, वनले घाँस काट्न दिँदैन, घाँस रोप्ने जग्गासमेत छैन, गाई बाख्राकै लागि भए पनि घाँस काट्न दिनभर जसो लाग्छ', उहाँले भन्नुभयो ।

यो ठाउँमा घाँसपात गर्न जाने भने प्रायजसाे ४० वर्षमाथिका रहेका हुन्छन् । नयाँ पुस्ताले घर गोठको काममा मन नलगाउँदा बाध्य भएर आफूहरुनै घाँसपातमा हिँड्नुपरेको त्यही ठाउँकी टीका मगरले बताउनुभयो । 'छोरी बुहारीले जाँगर गर्दैनन्, गाईबस्तु भोको राख्न भएन ५० वर्ष भइसके घाँस काट्ने दुःखले कहिल्यै छोडेन', उहाँले गुनासो गर्नभयो, 'छोराहरु कमाउन जान्छन्, छोरी बुहारी घाँसपात काट्न गोठमा काम गर्न जाँगर गर्दैनन् ।'

वन मासिने क्रम बढेपछि घाँसपातमा समेत प्रतिबन्ध लगाउनुपरेको बस्ती नजिकै रहेको महाराजा सामुदायिक वनका अध्यक्ष तेजेन्द्रकुमार सुनार बताउनुहुन्छ । अलि पहिलेपहिले घाँसपात काट्न दिइएको भए पनि घाँस काट्ने क्रममा सालको हाँगाबिगा र साना बोटहरुै काट्ने क्रम बढेकाले घाँसपातमा रोक लगाउन परेको अध्यक्ष सुनारले बताउनुभयो । 'सालको पात र सामान्य घाँस काट्न दिँदा वननै मासिने डर भयो, दाउराका लागि समय मिलाएर वन खुला गर्ने गरे पनि घाँसपात रोकेका छौँ', उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया