साबुन–तेलको जोहो गर्न झोलामा 'हजारे पसल'

 पुष ३, २०७९ आइतबार १३:२३:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

बझाङ - अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी ।  यस्तै कारणले प्रेमबहादुर खातीले सुरु गर्नुभयो, ‘हजारे पसल’ ।  एक हजारमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, बिस्कुट सुपारीसम्मको पसल ।

बर्खे भेलले सडक बगाएको मौकामा सुरु गरेको पसललाई अहिले पनि उहाँले निरन्तरता दिनुभएको छ । पहिले खोलाले फर्काएको धारमा अहिले सडक बनेको छ । आवतजावत गर्नेहरू सडकबाटै गए पनि उहाँको पसलका ग्राहक गाउलेहरू नै छन् ।

खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका उहाँ गत वर्ष आएको बाढीपछि बेसहारा बन्नुभएको हो । बाढीले सर्वस्व गुमाएसँगै उहाँको परिवारले आफन्तको छानोमा टाउको लुकायो । आफन्तहरूले लुगाकपडादेखि भाँडाकुँडा, खानेकुरा सबै सहयोग गरे । दाताले उपलब्ध गराएको खाद्यान्नले अहिलेसम्म गुजारा भएको छ ।

मध्यम वर्गीय खाती परिवारलाई गएकाे वर्षदेखि खाने गाँस न कमाउने जमिन भएको छ । 'घर न घाटजस्तै भयो,' उहाँले भन्नुभयो, 'वर्षभरी खाद्यान्न पुग्ने, सडकमै घर, उत्पादित वस्तु बेच्न सक्ने अवस्थामा थियौँ । गत वर्ष जडारीगाडले सम्पूर्ण जायजेथा लुट्यो ।'

अहिले उहाँको परिवारलाई न गाउँमा स्थापित हुने अवस्था छ, नत विस्थापित भएर अन्य ठाउँ जाने नै । त्यही अवस्थालाई भुलाउने काम उहाँको पसलले गरिरहेको छ । उहाँको त्यो पसल पनि कारूणिक छ । गाउँमा बाटो खन्ने योजना आएपछि उहाँ आफैँ काममा जानुभयो । गरिबी निवारणबाट आएको योजनामा बाटो काट्ने काम गरेका खातीले दुई–तीन दिन काम गरेको पैसा माग्नुभयो । बिहानै तमैल बजार गएर एक हजार रुपैयाँसम्मको सामान ल्याउनुभयो।

बाटो बनाउने कामदारलाई चकलेट, बिस्कुट, बिँडीलगायतका सामान चाहिने भएपछि उहाँले सामान ल्याएर काम गर्ने ठाउँमै लिनुभयो । पछि बाटोको काम सकिएपछि घरमै राख्नुभयो । 'गाउँदेखि बयलपाटासम्म २५/३० मिटरसम्म बाटो काट्यौँ,' खातीले भन्नुभयो, 'बाटो काट्दा हामीले दैनिक सात सय रुपैयाँ ज्याला पायौँ । त्यसबाट आएको पैसाले पसलकै सामान थपेँ ।'

उहाँका अनुसार आठ दिनसम्म गरेको कामबाट पाँच हजार रुपैयाँ मिल्यो । पसल थपेपछि आफूलाई साबुन सरप किन्न फाइदा भएको उहाँले बताउनुभयो । 'दैनिक दुई अढाइ सय बराबरको सामान बिक्री हुन्छ,' उहाँले भन्नुभयो, 'त्यसबाट फाइदा त २०/२५ रुपैयाँ मात्रै हो । कहिलेकाहीँ एक सय जति पनि फाइदा हुन्छ । त्यसबाट साबुन सरप आउँछ ।'

घरमा रोजगारी कोही नभएको हुँदा नुनतेलका लागि भए पनि केही राहत हुने भन्दै पसल सुरू गरेको उहाँले बताउनुभयो । 'कमाउने मान्छे कोही छैन । आफू वृद्ध भइसकेँ । खेतबारी नि छैन । छोरोको अवस्था (प्यारालाइसिसको बिरामी) त्यस्तै छ ।' उहाँले आफू वृद्धले केही गर्न सक्ने बताउनुभयो । 'अब म बूढो कसरी के गरिखाउँ ? दिन बिताउनै निकै आपत् परेको छ ।'

अहिले उहाँको परिवारमा छ जना सदस्य हुनुहुन्छ । नाति नातिनीसहित छोरा–बुहारी र उहाँको दम्पती सबै बेसहाराजस्तै बनेको उहाँले सुनाउनुभयो । प्रेमबहादुरकी बुहारीले घरमा एक गाई पाल्नुभएको छ । उहाँको दैनिकी दिनभर त्यसको स्याहारमै बित्छ । 'अलि–अलि भएको खानेकुरा पनि निल्न सकिँदैन, त्यसैले एउटा सानो गाई पालेका छौँ,' उहाँले भन्नुभयो ।

अहिले खातीको परिवार बसेको छिमेकीको घर पनि सुरक्षित छैन । 'यता सुरक्षित खासै छैन । तलपट्टी पूरै खोलै छ । घरवाला तराई गएका हुनाले त्यसैले यहाँ बसेका हौँ,' उहाँले भन्नुभयो । खाती दिनभरि पसल बाहिर फिजाएर राख्छन् भने साँझ बोरामा हालेरभित्र लिनुहुन्छ । 'मेरो दैनिकी पनि यस्तै बितेको छ,' उहाँले भन्नुभयो ।

अहिले खातीका चार–छ वर्षका नाति–नातिनी बयलपाटा खातीगाउँकै विद्यालयमा पढ्नुहुन्छ । उहाँहरूलाई कापी–कलम पनि हुन्छ कि भनेर पसल सुरू गरेको उहाँले बताउनुभयो । 'काम केही छैन, कतै जाने ठाउँ पनि छैन,' उहाँले भन्नुभयो, 'दिन काट्न पनि निकै गाह्रो हुन्छ । जग्गा–जमिन केही छैन । दिनभर म वृद्धसँग बस्ने कोही छैन । त्यसैले यो पसलमा भुलिरेहको छु ।'

प्रेमबहादुरका छोरा निकै अपाङ्ग छन् । केही वर्ष पहिले त खाना पनि अरूले नै खुवाउनुपर्थ्याे । अहिले पनि हातखुट्टा चल्दैन । 'छोराको हात–खुट्टा चल्दैन । दायाँ हात, दायाँ खुट्टाको भाग पूरै नचल्ने छ । अहिले खाना खुवाउनु त पर्दैन । बायाँ हातले खान सिकिहाल्यो,' उहाँले भन्नुभयो ।

'छोराको समस्या भएको (प्यारालाइसिस) छ–सात वर्ष भइसक्यो । उपचारका लागि धेरै ठाउँमा लियौँ, कतै सम्भव नभएर अहिले घरमै थन्किनुपरेको छ,' उहाँले भन्नुभयो ।

अस्पतालदेखि गाउँघरतिर सबैलाई सहयोग मागेको उपचारीय सहयोग खर्चमात्रै भएको तर, निको नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'के पो भयो खै ! कहाँ हड्डीमा रोगले समात्यो भन्ने छ । जडीबुटी पनि सबै गरेका हौँ तर केही भएन ।'

अहिले उहाँले परिवारको गुजारा कसैले दिए खाने नत्र भोकै बस्ने छ । 'खोला नजिक भएको हुँदा कहिलेकाहीँ त माछा मारेर भए पनि छाक टार्छौँ। जालमा तीन–चार माछा परे पनि त्यसैमा पानी हालेर झोल बनाउँदै एक–एक रोटी खाएका छाक धेरै छन् ।'

खातीगाउँमा प्रेमबहादुरको जस्तै धेरै परिवारको समस्या छ । गाउँमा घरबाहेक केही नभएका सबै गाउँले अहिले कामको खोजीमा भौँतारिरहेका छन् । 'दुई परिवारको घरसहित केही बाँकी रहेन', स्थानीय सुरेन्द्र खातीले भन्नुभयो, 'बाँकी गाउँलेको पाइला टेक्नलाई पनि जमिन रहेन । अहिले सबै रोजगार तथा अन्य ठाउँको खोजीमा छन् । सरकारी निकायबाट सधैँ बेवास्ता भइरह्यो ।'

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया