‘भएकाकाे विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती गर्दैनौँ’

 पुष ४, २०७९ सोमबार १६:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अलमल्याउने कुरामात्रै भएको बताउनुभएको छ । 

आज सोमवार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाेको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताउनुभयो । अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताउनुभयो । उहाँले गठबन्धनका पार्टी र अरू नेताहरूमा अहङ्कार भए वा उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको उल्लेख गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्ने कुरा चासोको विषय छ । कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलावमात्रै हो । कसैले वामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, त्याे पनि अलमल्याउने कुरामात्रै हो । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ ।’

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापकरूपमा व्यक्तिवाद हाबी भएको बताउनुभयो । उहाँले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताउनुभयो । उहाँले यसको विरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने उल्लेख गर्नुभयाे । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताउनुभयो । 

अध्यक्ष नेपालले अहिलेको चुनावमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरूले आफ्नो शक्ति आर्जन गर्नु चुनौतीको विषय भएको बताउनुभयो । उहाँले गणतन्त्रका विरुद्धमा राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने कुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिनुभयो । उहाँले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने कुराको खोजी गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । 

अध्यक्ष नेपालले देशमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोही पनि नेतालाई पार्टीले छुट नदिने बताउनुभयो । उहाँले अहिले गठबन्धनकै भरमा चुनावमा प्रतिस्पर्धा गरेकाे भन्दै सिट विभाजनमा आफ्नै गुनासा भए पनि चुनावकाे आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । गठबन्धनमा अरूले नाेक्सानी बेहाेरे पनि कांग्रेसले फाइदा लिएको गुनासाे गर्नुभयाे ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया