२६ वर्षमा पनि बनेन बाग्लुङ–कुश्मीशेरा सडक

 पुष ४, २०७९ सोमबार २०:२३:५४ | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङको दक्षिण क्षेत्रलाई जोड्ने गरी २६ वर्षअघि निर्माण थालिएको बाग्लुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ–ठाउँमा गएको पहिरो तथा मर्मत नभएको कच्ची सडकको खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । 

बाग्लुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दब्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बाग्लुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि एक करोड ३१ लाख ७७ हजार आठ सय ३७ रुपैयाँको लगत अनुमान गरेको छ । 

‘गएको वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाएका हौँ, तर बजेट चार लाखमात्रै आयो’, कार्यालयका इन्जिनियर कृष्ण गौतमले भन्नुभयो, ‘सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन ।’ वर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ ।

‘बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आसा गर्छौँ तर हिउँदमा सुनसान हुन्छ’, बाग्लुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले भन्नुभयो, ‘पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ ।’ पहिरो पन्छाउन मात्रै बाग्लुङ नगरपालिकाले दुई वर्षमा १० लाख रुपैयाँ खर्च गरेको छ । गएको वर्ष नगरपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँमा तयार भएका संरचना पहिरोले बगाएको छ । 

विसं २०७२ मा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँ–ठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ । कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ । लामो समय बितिसक्दासमेत सडकको पहिरो गाडी एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीयवासी ज्ञानेन्द्र ढकाल बताउनुहुन्छ । पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरङ्गेसम्मको १० किमी खण्डमा खसेको पहिरोको समेत अवस्था उस्तै छ । 

‘पहिरो नियन्त्रणका लागि पहल भइरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अवस्था नरहेकाले माथिल्लो निकायमा पहल गरेका छौँ’, बाग्लुङ नगरपालिकाका उपमेयर राजु खड्का भन्नुहुन्छ, ‘अर्थमन्त्रीसँग सिधा संवाद गरेका छौँ, आसा छ हिउँदमा काम हुने वातावरण बन्छ ।’ सडकको दुरावस्थाले बाग्लुङलाई नै गिज्याइरहेको भान हुने गरेको छ । बाग्लुङका मुख्य सडकमध्ये पर्ने यो सडक विभिन्न समयमा विभिन्न योजनामार्फत खण्ड–खण्डमा कालोपत्र भएको भए पनि अझै दुई किमी सडक कच्ची नै छ । 

मालढुङ्गादेखि दब्ल्याङसम्मको खण्ड कालीगण्डकी कोरिडोरसमेत पर्ने भएकाले कालोपत्र गरिएको छैन । बाग्लुङ नगरपालिका–१२ अमलाचौरको सरङ्गेदेखि टाकुरीसम्मको एक किमी खण्डमा कसैको आँखा नपरेको स्थानीयवासी प्रेम शर्माले बताउनुभयो ।

बाग्लुङ नगरपालिकामा पर्ने यस खण्ड जैमिनी र बरेङ गाउँपालिकाको प्रयोगमा आउने भएकाले चपेटामा परेको हो । उपयोग कम हुने भएकाले बाग्लुङ नगरपालिकाले कम महत्त्व दिने गरेको छ भने आफ्नो भूगोल नभएकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई त्यहाँ बजेट खर्चिन कठिन छ । ‘बीचमा परेको बाटो नबन्दा दुःख पायौँ’, शर्माले भन्नुभयो ।

यो खण्ड कलोपत्रका लागि जैमिनी नगरपालिकाले ५०/५० प्रतिशत साझेदारीको प्रस्ताव गरेको छ । तर पूर्वाधार कार्यालय बाग्लुङसँग साझेदारीको बजेट नहुने भएकाले आउँदो वर्षको कार्यक्रममा बजेट माग गरिने कार्यालयका निमित्त प्रमुख महेन्द्र शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया