ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ आज

 पुष ६, २०७९ बुधबार ७:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउनुहुने भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लाग्नुभएको हो । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ । त्याे व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउनु हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ । गएकाे मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया