नेपालमा नै मुटुको कृत्रिम भल्भ राख्न थालेपछि विदेश जाने घटे

 पुष ६, २०७९ बुधबार १५:१६:२० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्भ राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले 'ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टाभी)' विधिबाट मुटुमा कृत्रिम भल्भ राख्ने गरेको छ । यसअघि यस कृत्रिम भल्भ राख्न बिरामी भारतसहित अन्य देश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्भ नेपालमा नै राख्ने गरेका छन् ।

हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले अहिलेसम्म छ जना बिरामीको मुटुको कृत्रिम भल्भ राखिएको जानकारी दिनुभयो । एक कृत्रिम भल्भ ह्याम्स अस्पतालले पनि राखेको छ । उहाँले एक बिरामीको सफलतापूर्वक कृत्रिम भल्भ राखेपछि आत्मविश्वासले अन्य बिरामीको पनि राख्न थालेको बताउनुभयो । नेपालमा पहिलो पटक केन्द्रले नै गएकाे वर्ष फागुनमा मानिसको मुटुको कृत्रिम भल्भ राखेको हो । 

मुटुकाे कृत्रिम भल्भ राख्न नेपालमा २५ लाखदेखि ३८ लाखसम्म र भारतमा ६० लाखदेखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । उहाँका अनुसार एक हप्ताभित्र पुनः एक बिरामीको पनि मुटुको कृत्रिम भल्भ राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । ‘नेपालमा नै मुटुको भल्भ राखिने भएपछि धेरै बिरामी हाम्रोमा नै आउने गरेका छन्’, उहाँले भन्नुभयो, ‘महिनामा एक/दुई जना कृत्रिम भल्भ राख्न भारत जाने गर्दथे तर हामीले नै नेपालमा सुरु गरेदेखि अहिले बिरामी बाहिर गएका छैनन् ।’

उहाँका अनुसार मुटुको कृत्रिम भल्भ राख्न वार्षिक झन्डै १२ जना बिरामी भारत जाने गरेका थिए । केन्द्रले नै मुटुको भल्भ राख्न थालेपछि भने एक बिरामी मात्र भारत गएको आफूले जानकारी पाएको उहाँले बताउनुभयो । मुटुको एओर्टिक भल्भ साँघुरो र उमेरका कारणले छाती चिरेर शल्यक्रिया गर्न जोखिम भएपछि यस भल्भकाे स्थानमा नयाँ कृत्रिम भल्भ राख्ने गरिन्छ । यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमले निर्मित तार अर्थात् 'क्याथेटर' द्वारा मानव निर्मित भल्भ मुटुभित्र छिराएर एओर्टिक भल्भको  स्थानमा प्रत्यारोपण गरिन्छ । 

प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । मुटुको एओर्टिक भल्भ साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ । उहाँका अनुसार यस एओर्टिक भल्भको वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धावस्थामा शल्यक्रिया गर्न असहज हुने हुँदा भल्भ नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्भ साघुरिने रोगलाई 'एओर्टिक स्टेनोसिस' भनिन्छ । 

यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्भ प्रत्यारोपण गरिने विधि हो । वृद्धावृद्धामा यस रोगकाे शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले 'टाभी' विधिबाट मात्र सम्भव हुने उहाँले बताउनुभयो । 

केन्द्रले कृत्रिम मुटुको भल्भ भारत, नेदरल्यान्डलगायत देशबाट ल्याउने गरेको छ । बिरामीको मुटुमा २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका कृत्रिम भल्भ राख्ने गरिन्छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया