चितवनको भरतपुरमा आजदेखि हर्न बजाउन नपाइने

 पुस ७, २०७९ बिहिबार १०:१५:४६ | रासस
unn.prixa.net

चितवन - चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला गाडीको समेत व्यवस्थापन गर्ने भएको छ । 

बढ्दो सहरीकरणले गाडी व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ । एक हप्ताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले गाडी व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो  । 

यस निर्णयअनुसार पूर्वबाट काठमाण्डाै–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका गाडीका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ ।

पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक गाडीका यात्रु चढाउने तथा झार्ने काम केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक गाडीले केन्द्रीय बसपार्कबाट यात्रु चढाउने तथा झार्ने गरी जानुपर्ने नियम बनाइएको छ ।

यस्तै, भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने गाडीको पार्किङ स्थल नारायणगढ बसपार्क हुनेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बसका लागि पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ । 

यस्तै, काठमाण्डाै पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक गाडी ट्रक, लहरी, टिपरजस्ता मालबाहक गाडीलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ । महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ । यस्तै, नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दायाँबायाँ भागमा निजी तथा भाडाका गाडीलाई पार्किङमा निषेध गरिएको छ । 

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले  महानगरको परिकल्पना अनुसार गाडीलाई व्यवस्थापन गर्न लागिएको बताउनुभयो । बाहिर छरिएर राखिने गाडीका कारण सहरको सुन्दरतामा ह्रास आएको र आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले आजदेखि ट्राफिक व्यवस्थापनको काम परिवर्तन हुने र दुई बसपार्क पूर्णरुपमा सञ्चालनमा आउने बताउनुभयो । उहाँले पटक–पटक यातायात व्यवसायीसँग छलफल गरेर निर्णय कार्यान्वयन गर्न लागिएको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया