खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

 पुष ८, २०७९ शुक्रबार १२:५३:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर - पछिल्लो केही वर्षयता बसाइँँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ ।

कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कुल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइँँ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन बस्तीमा रुपान्तरण हुँदै गएको छ ।

उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन खेतीयोग्य छ । यसमध्ये ५६ हजार छ सय दुई हेक्टरमा मात्रै खेती हुने गरेको छ । कैलालीमा ९० हजार हेक्टर जमिन खेतीयोग्य रहेकामा ८६ हजार चार सय ५० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ ।

त्यसैगरी पहाडी जिल्लामा कुल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ । यसमा ४२ हजार चार सय १३ हेक्टरमा मात्रै खेती भइरहेको निर्देशनालयले जनाएको छ । त्यसैगरी डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर कुल खेतीयोग्य जमिन रहेकामा २५ हजार पाँच सय हेक्टरमा मात्रै खेती भइरहेको छ । डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर जमिन खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती भइरहेको छ ।

बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ । त्यसैगरी खाद्यान्न अभाव हुने जिल्ला बाजुरामा २४ हजार तीन सय हेक्टर मात्रै खेतीयोग्य जमिन रहेकामा २० हजार एक सय ५५ हेक्टरमा मात्रै खेती भइरहेको छ । 

यस्तै ३४ हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती भइरहेको छ । त्यसैगरी दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकामा २२ हजार आठ सय २५ हेक्टरमा मात्रै खेती भइरहेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशको कुल खेतीयोग्य जमिनको ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा सिँचाइ सुविधा रहेको छ ।

निर्देशनालयका कृषि अर्थविज्ञ टेकेन्द्र ऐरले सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीयोग्य जग्गा बाँझो रहेको र तराईमा खण्डीकरण भइरहेको बताउनुभयो । 'सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ । यी जिल्लामा खेतीयोग्य जमिन कम हुँदै जानु बिडम्वना हो ।' उहाँले यो समस्या न्यूनीकरणका लागि तीनवटै तहका सरकारले मिलेर एउटा विशेष संयन्त्र बनाएर काम गर्नुपर्ने बताउनुभयो । 

कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले बसाइँँसराइका कारण तराईका जिल्लामा हरेक वर्ष ५/१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, 'धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ केही ठाउँमा नदी कटानले पनि घटेको छ ।' माटो बचाउ अभियानका संयोजक हेमबावु लेखकले पहाडी क्षेत्रबाट तराईमा बसाइँँसराइ गर्ने परम्पराले खेतीयोग्य जग्मा मासिन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, 'पहाडी क्षेत्रको उर्बरभूमि बाँझो छोडेर तराईमा बसाइँ सरी चामल किनेर खाने परम्परा बढदै गएको छ ।' 

बैतडीको पाटन बहुमुखी क्याम्पसका ग्रामीण विकासका प्राध्यापक ज्योतिप्रकाश पन्त पहाडी क्षेत्रमा जग्गा बाँझो रहने समस्या बढ्नुमा कृषिप्रति युवाको रुची नहुनु र कृषिबाट आशातीत प्रतिफल नआउनुलाई मुख्य कारण मान्नुहुन्छ । उहाँ पछिल्लो समय युवा विदेश जाने मोहका कारण पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको तर्क गर्नुहुन्छ । सरकारले पनि जग्गा धितो राखेर दिने ऋण सुविधा सहजरुपमा प्रवाह हुन नसक्दा पनि कृषक निराश भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया