सरकारी वकिलहरू व्यावसायिक र क्षमतावान् हुन आवश्यक छ : प्रधानमन्त्री देउवा

 पुष ८, २०७९ शुक्रबार १८:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैमा सुरु भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले फौजदारी शासन कायम गर्न देशको विद्यमान कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेकाे बताउनुभयो । उहाँले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने काम कुनै पनि किसिमको दबाब, प्रभावमा नपरि निष्पक्ष, स्वतन्त्र र व्यावसायिकरूपमा सम्पादन गर्न सरकारी वकिलहरूलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फौजदारी शासन कायम गर्न देशको विद्यमान कानुनको निष्पक्ष प्रभावकारिताको रूपमा कार्यान्वयन हुनेछ । कानुनी शासन बनाउन महत्त्वपूर्ण योगदान गर्दै आएकाे महान्यायाधिवक्ता कार्यालयको कार्यकुशलता, स्वच्छता, निष्पक्षता, पारदर्शिताले देशमा कानुनी राज्यको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सदैव सजग र सचेत रही कार्यसम्पादन गर्न आवश्यक छ । कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने कार्यहरू कुनै पनि किसिमको दबाब, प्रभावमा नपरि निष्पक्ष, स्वतन्त्र र व्यावसायिकरूपमा सम्पादन गर्न सबै सरकारी वकिलहरूलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री देउवाले अपराधसंहिता लगायतका नयाँ फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्चितता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकारविरुद्ध परेका कानुन विवादको प्रतिरक्षा गर्दै व्यावसायिक दायित्व निभाउन पनि सरकारी वकिलहरूलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले सरकारी वकिलहरू व्यावसायिक र क्षमतावान् हुन आवश्यक रहेको पनि बताउनुभयो । सरकारी वकिलको सेवा तथा सर्तसम्बन्धी कानुन निर्माणका लागि सरकारले आवश्यक पहल गरिरहेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया