चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठायो, १० वर्षसम्म नेपाल आउन नपाउने

 पुष ८, २०७९ शुक्रबार १९:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालको जेलमा झन्डै दुई दशक बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठाएको छ ।

सर्वोच्च अदालतको गएकाे बुधवारको आदेशअनुसार आज शुक्रवार जेलमुक्त भएका शोभराजलाई केहीबेर अघिकाे उडानबाट फ्रान्स पठाएको अध्यागमन विभागले जनाएको छ । शोभराजलाई अबको १० वर्ष नेपाल आउन नपाउने गरी फ्रान्स फिर्ता पठाएको विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताउनुभयो । शोभराज दोहा हुँदै भोलि शनिवार पेरिस पुग्ने उहाँले बताउनुभयो ।

शोभराज २०६० सालदेखि नेपालको जेलमा थिए । २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा २०६० सालमा पक्राउ परेका शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

पछिल्लो पटक शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो । ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको आदेशमा भनिएको छ ।

भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी २० जनाभन्दा धेरैको हत्यामा संलग्न भएको आरोप लागेका शोभराजले भारत र नेपालको जेलमा गरी २० वर्ष बिताएका छन् । भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्न पोख्त मानिने शोभराजलाई 'बिकिनी किलर', 'सिरियल किलर' र 'द सर्पेन्ट' उपनामले विश्वभर चिनिन्छ । शोभराजसँग जोसुकै मानिसलाई पनि भेटेको केही समयमै आफ्नो प्रभावमा पार्न सक्ने शक्ति भएको उनकाे मुद्दाकाे अनुसन्धान गरेका अधिकारीहरू बताउँछन् ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया