परिवार पाल्न नौ महिना बगरमा बास

 पुष १०, २०७९ आइतबार १३:४८:४३ | रासस
unn.prixa.net

तस्बिर : रासस

कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ । दम्पतीसहित याे नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो ।

नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उहाँले वर्षभरिको जोहो गर्नुहुन्छ । 'बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु यहाँ आउन थालेको आठ वर्ष भयो', उहाँले भन्नुभयो,'भारत गएर काम गर्न सकेनौँ, यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।' उहाँले महाकाली नदीको नदीजन्य पदार्थ नै आफ्ना लागि आयआर्जनको प्रमुख स्रोत बनेको बताउनुभयो । 'यही गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौँ, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो', उहाँले भन्नुभयो,'नौ महिना हामी यही बगरमै बसेर काम गर्छौँ ।'

उहाँजस्तै कञ्चनपुरको बेलौरी, बेल्डाँडी, कैलाली र डडेल्धुराबाट समेत आएर बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवम् विपन्न समुदायका प्रायजसाे परिवार अहिले बगरमै बसेर परिवारको परिवारको जोहो गरिरहेका छन् ।

भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहाले पनि परिवारको जोहो गर्न बगरमा सङ्घर्ष गर्नुपरेको छ । परिवारको खर्च जुटाउनका लागि आफूहरूसँग यसको विकल्प नभएको उहाँले सुनाउनुभयो ।'सुन छान्ने परम्परागत पेसा भए पनि अहिले हामी नदी किनारमा गिट्टी, बालुवा छानेर जोहो गरिरहेका छौँ', उहाँले भन्नुभयो,'यहाँ सुन भेटिँदैन, बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।'

उहाँले आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्न हरेक दिन महाकाली नदीको बगरमा आउने गरेको बताउनुभयो । उहाँले परिवारका सबै मिलेर मासिक २५ हजार रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो।'चामल किन्नेदेखि छोराछोरीको स्कुलको शुल्कसमेत यही कमाइले बेर्होनुपर्छ', उहाँले भन्नुभयो,'दिनभर बगरमा काम नगरे बेलुका–बिहान घरमा चुल्हो बाल्न मुस्किल पर्छ ।'

पाँच वर्ष भारतको महाराष्ट्रमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै गिट्टी, बालुवा छान्न व्यस्त हुनुहुन्छ ।'हाम्रो तीन पुस्ताले बगरमै गिट्टी, बालुवा छानेर परिवारको जोहो गरेको छ', उहाँले भन्नुभयो,'सरकारले हाम्रा लागि सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।'

अहिले महाकालीमा नदीमा प्रतिट्रली बालुवा एक हजार र गिट्टी एक हजार आठ सय रुपैयाँमा बिक्री हुने गरेको छ । महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दा बढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेका छन् । प्रायजसाे परिवारसहित नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् । 

लामो समयदेखि यहाँका स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी छानेर जीविकोपार्जन गर्ने नागरिक धेरै छन् । यहाँका विपन्न समुदायका लागि महाकाली नदी आयआर्जनको मुख्य स्रोत बनेको छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया