म्याग्दीको बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु

 पुष १०, २०७९ आइतबार १०:३६:५९ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो ।

परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा सदस्य सोहन श्रेष्ठले जानकारी दिनुभयो । 'कालीगण्डकीमा पानीको सतह नबढ्दै सक्ने गरी पक्की पर्खाल निर्माण सम्पन्न गराउन पहल गरिएको छ', उहाँले भन्नुभयो, 'बेनीको कालीगण्डकी नदी किनारको सबैभन्दा जोखिमयुक्त ठाउँमा कटान नियन्त्रण गर्न लागिएको हो ।'

अहिले पक्की पर्खाल निर्माण गर्न लागिएको ठाउँमा यसअघि निर्माण भएको झण्डै एक सय ६० मिटर पर्खाल २०७५ साल असोज र २०७८ साल असारमा कालीगण्डकीमा आएको बाढीले बगाएको थियो । त्यस ठाउँमा ग्याबियनको अस्थायी पर्खाल र ठूला ढुङ्गा थुपारेर कटान रोकथामको प्रयास गरिएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले २२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७८ साल माघमा कालीगण्डकी र म्याग्दी नदी नियन्त्रणका लागि संरचना बनाउन रौताह–बीएनबी कन्ट्रक्सनसँग नौ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।     

कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल असारअघि नै निर्माण भएको थियो । कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा गएकाे वर्ष पक्की संरचना बनाउन सकिएको थिएन । बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीसँग सहमति जुटाएर नदी किनारमा पक्की पर्खाल निर्माण सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी किनारमा आठ मिटर अग्लो र एक सय ३४ मिटर लामो काउन्टर फोर्ट प्रविधिको पर्खाल निर्माण गर्न लागिएको हो । 

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनीमा नदी नियन्त्रणका लागि चार वर्षयता काम गर्दै आएको छ । परियोजनाका इञ्जीनियर कृष्ण विश्वकर्माले बेनीको थप ठाउँमा पनि पक्की पर्खाल बनाउन ठेक्का प्रक्रियामा रहेको बताउनुभयो । सङ्घीय सरकारले बेनीलाई जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेर नदी नियन्त्रणको काम गर्दै आएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया