राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

 पुस ११, २०७९ सोमबार १४:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएका राप्रपा र उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।

आज साेमवार बसेको राप्रपाको पदाधिकारीको बैठकले देशलाई अनिर्णयको बन्दी हुन नदिनका लागि प्रचण्डलाई समर्थन गरे पनि सरकारमा नजाने निर्णय गरेको हो । पछि परिस्थिति हेरेर निर्णय गर्न सकिने तर अहिले सरकारमा सहभागी नहुने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपासँग १४ जना सांसद रहेका छन् ।

यस्तै रेशम चौधरी रहेकै जेलमा बसेको नागरिक उन्मुक्ति पार्टीकाे बैठकले पनि सरकारमा सहभागी नहुने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीसँग तीन सिट रहेको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी भने सरकारमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । उसले नागरिकले परिवर्तनको आभास गरिहाल्ने गरी काम गर्ने भन्दै भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यजस्ता मन्त्रालय पाउनुपर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २० सिट रहेको छ ।

यस्तै डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले पनि कृषि तथा पशुपक्षी मन्त्रालयको दाबी गरेको छ । उसले किसानले मल, बिउ नपाएको समस्या तत्कालै समाधान गर्ने र बिचौलियाको जालो तोड्ने भन्दै कृषि मन्त्रालयको माग गरेको हो । जनमत पार्टीसँग छ सिट रहेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया