शपथ ग्रहणमा ‘गाईजात्रा’, पटक–पटक माइक बिग्रियो, उद्घोषक अलमलिए

 पुस ११, २०७९ सोमबार २०:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा आज साेमवार धेरै रमाइला दृष्य देखिए । व्यवस्थापकीय कमजोरीदेखि उदघोषकले ढङ्ग नपुर्‍याउँदा कार्यक्रम खल्लोजस्तो पनि देखियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रम ४ बजे भए पनि चहलपहल भने दिउँसैदेखि थियो । छिन–छिनमा प्रहरीका गाडी साइरन बजाउँदै शीतल निवासमा प्रवेश गरिरहन्थे, विशिष्ट व्यक्तिहरू जाममा नपरून् भनेर ट्राफिक व्यवस्थापनका लागि शीतल निवासबाहिर खटिएका ट्राफिक प्रहरीलाई भ्याइनभ्याइ भयो । ४ बजे नै शपथ ग्रहण गर्नुपर्ने भए पनि प्रचण्ड ४ बजेपछि मात्रै शीतल निवास पुग्नुभयो । प्रचण्ड केहीबेर थापाथलीको जाममा पर्नुभएको थियो ।

प्रचण्डले आज दौरासुरुवाल लगाउनुभएको थियो । यसअघि सार्वजनिक जीवनमा कहिल्यै पनि दौरासुरुवाल नलगाएकाले आज प्रचण्डको पोसाकबारे पनि धेरैको चासो रह्यो । शपथ ग्रहण कार्यक्रम निकै खल्लो भयो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई शपथ दिलाउँदा पटक–पटक माइक बिग्रियो । त्यति भव्य कार्यक्रममा पनि माइक दुरुस्त नभएकोमा राष्ट्रपतिले साङ्केतिकरूपमा असन्तोष व्यक्त गर्नुभयो ।  

माइक बिग्रिएको खल्लोपन एकातिर थियो, त्यसमाथि थपियो उद्घोषकको अलमल । शपथ ग्रहण कार्यक्रमको उद्घोषण गरिरहेका राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला पटक–पटक अलमलिँदा कार्यक्रमको शोभा नै हराएजस्तो भयो । 

राष्ट्रपतिले पहिले प्रधानमन्त्री प्रचण्डलाई शपथ गराउनुभयो, त्यसपछि तीन जना उपप्रधानमन्त्रीलाई र अन्त्यमा बाँकी मन्त्रीलाई शपथ गराउनुभयो । तर एमालेको तर्फबाट मन्त्री बनेकी ज्वालाकुमारी साह भने शपथ सकिएपछि पुग्नुभयो । अरूको शपथ सकिएपछि उहाँले छुट्टै शपथ लिनुभयो । पछि थाहा भयो, लामो जाममा परेर साह पनि समयमै पुग्न सक्नुभएको रहेनछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको रूपमा शपथ लिनुभयो । रविको  प्रष्ट बोली र आँटिलो स्वभाव शपथ ग्रहण समारोहमा पनि देखियो ।

शपथ ग्रहण समारोहमा अरू पनि रोचक दृष्य देखिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डको पछाडि निन्याउरो मुख लगाएर बस्नुभएको थियो । देउवाले खै के सोचेर बस्नुभएको थियो कुन्नि, शपथ सुरु हुँदा सबै उठे, उहाँ उठ्न बिर्सनुभयो, पछाडिबाट अरूले यसो कोट्याएर सम्झाइदिएपछि देउवा हतार–हतार उठ्नुभयो ।

अर्कातिर पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, केपी शर्मा ओली र बाबुराम भट्टराई सँगसँगै सिटमा हुनुहुन्थ्यो । उहाँहरू कसैको पनि मुख उज्यालो थिएन । विगतको झगडा बिर्सन नसकेर होला, माधव नेपाल र केपी ओलीले त एक–अर्कालाई हेर्न पनि सकिरहनुभएको थिएन । सायद पार्टी फुटेपछि एक–अर्कालाई नानाथरी गाली गरेको सम्झनुभयो होला ।

शपथ सकिएपछि उद्घोषकले विशिष्ट व्यक्तिलाई तपाईंहरू यता पाल्नुहोला र उता पाल्नुहोला भने तर प्रधानमन्त्री प्रचण्डलाई केही भनेनन् । प्रचण्ड केहीबेर कुर्सीमा एक्लै बस्नुभयो, पछि सुरक्षाकर्मी आएर डोर्‍याउँदै लगेपछि शपथ ग्रहणको कार्यक्रम पनि सकियो । त्यसपछि सुरु भयो, कानेखुसी र फोटो अनि सेल्फी ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया