सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाउने

 पुष ११, २०७९ सोमबार २२:१:५४ | रासस
unn.prixa.net

काठमाण्डौ - राहदानी (पासपोर्ट), सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदमा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले नागरिकलाई सेवा दिने निर्णय गरेका छौँ ।”

नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या समाधानमा केन्द्रित हुने गरी सङ्कल्प गरेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले केही नयाँ गरौँ भन्ने सङ्कल्पका साथ आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि नागरिकमा आशा जागेको उहाँको भनाइ छ । उहाँले गएकाे मङ्सिर ४ गते सम्पन्न चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषद् समेटेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा अगाडि जटिलता र चुनौतीहरू छन् । नागरिकमा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरूको सङ्कल्प भएकाको केन्द्रीकरण भएको छ । त्यसकारण पनि काम गर्न मलाई सहज लागेको छ ।” उहाँले देशको अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, नागरिकमा सुशासनको प्रत्याभूति गराउने र सेवा प्रवाहमा केन्द्रित हुने गरी पहिलो बैठकमा छलफल भएको बताउनुभयो । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया