अमेरिकामा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुग्यो

 पुस १२, २०७९ मंगलबार १४:१:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले जनाएको छ ।

मानिसहरू घरभित्रै तथा गाडीमै मृत भेटिएका छन् । हिमआँधी अर्थात् चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । सबैभन्दा बढी प्रभावित भएको बफेलो सहरका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताउनुभएको छ । ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरू पनि नराम्रोसँग प्रभावित भएका छन् ।

सरकारी अधिकारीहरूले अत्यावश्यक नपरि घरबाहिर ननिस्किन सुझाव दिएका छन् । हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ । हिउँले सडकहरू बन्द भएका छन् भने सयौँ उडानहरू रद्द गरिएको छ । विभिन्न ठाउँमा लामो समयसम्म बिजुली सेवा बन्द भएको छ । चिसो घट्न अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया