सत्ता साझेदार दलको बैठक आज बस्दै

 पुस १४, २०७९ बिहिबार ८:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता साझेदार दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने सत्तासाझेदार दलका अध्यक्षहरूको बैठकमा सरकारको नीति तथा कार्यक्रम, मन्त्रीपरिषद् विस्तार, पहिलो मन्त्रीपरिषद् बैठकले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन, मुख्यमन्त्रीको भागबन्डालगायतका विषयमा छलफल हुनेछ । साथै सरकारमा सहभागी रहेका कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा पनि विस्तृत छलफल हुनेछ ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तीव्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक पुस २५ गतेका लागि बोलाइएको छ । यसअघि हिजो ललितपुरको खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

संसद्को पहिलो बैठकअगावै मन्त्रीपरिषद् विस्तारसहित शक्ति बाँडफाँडसँग जोडिएका विषय प्याकेजमै टुंगो लगाउने दुई नेताबीच समझदारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । ओलीसँगको छलफलअघि प्रचण्डले हिजो नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो ।

गएको १० गते सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । तर सत्ता गठबन्धनमा सामेल केही दलले अझै सरकारमा सामेल हुने वा नहुनेबारेमा निर्णय गरिसकेका छैनन् ।

हिजो मात्र राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले न्यूनतम साझा कार्यक्रममा सहमति भएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रीपरिषदबाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्नेलगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जानेबारे निर्णय गर्न बाँकी नै छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया