सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा चल्दै

 पुस १४, २०७९ बिहिबार १०:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार दलहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलका अध्यक्षहरू सहभागी रहेका छन् ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार, पहिलो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन, मुख्यमन्त्रीको भागबन्डालगायतका विषयमा छलफल केन्द्रित हुनेछ । साथै सरकारमा सहभागी रहेका कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा पनि विस्तृत छलफल हुनेछ ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तीव्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक पुस २५ गतेका लागि बोलाइएको छ । यसअघि हिजो प्रचण्डनिवास ललितपुरको खुमलटारमा हिजो प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

संसद्को पहिलो बैठकअगावै मन्त्रिपरिषद् विस्तारसहित शक्ति बाँडफाँडसँग जोडिएका विषय प्याकेजमै टुंगो लगाउने दुई नेताबीच समझदारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

ओलीसँगको छलफलअघि प्रचण्डले हिजो नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो । पुस १० गते सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया