एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – उखु किसानको समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । आज बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरूले समस्याको समाधान दीर्घकालीनरूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उखु किसानको समस्यालाई बारम्बार बल्झाउन नहुनेमा सांसदहरूले जोड दिएका छन् ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रूपमा रहेका उखुलगायतका बालीहरूलाई व्यक्तिगतरूरुपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताउनुभयो । उहाँले उखुबालीलाई सामूहिक उत्पादन गर्नुपर्ने बताउनुभयो । उखु उत्पादन व्यवस्थितरूपमा नभएको भन्दै उहाँले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ । देशमा चिनीको कति खपत हुन्छ भन्ने निर्क्याेल गरेर देशमै उत्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भए पनि यसप्रति सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडि बढाउन सके राम्रो हुने धारणा व्यक्त गर्नुभयो । निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उहाँको जोड छ ।
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताउनुभयो । उहाँले सरकार परिवर्तत हुनासाथ नीति पनि फेरिने भन्दै उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको बताउनुभयो । उहाँले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानुनी दायरामा ल्याउन र भुक्तानी दिलाउन किन रोकिएको भनी सरकारलाई प्रश्नसमेत गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले किसान उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताउनुभयो । उहाँले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिकरूपमा सबल बनाउन देश बाहिरबाट नीति आयात हुन नदिने नीति बनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्ने गरी उखुको मूल्य निर्धारण हुनुपर्ने बताउनुभयो ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले देशलाई कृषिप्रधान देश भनिए पनि उद्योगप्रधान देश बनेको टिप्पणी गर्नुभयो । उहाँले उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको गुनासो गर्नुभयो । सरकारले समयमै मल दिन नसकेको र उद्योगले भुक्तानी नदिने गरेको उहाँले बताउनुभयो । आफूहरूले उखु शून्य मूल्यमा बेच्न बाध्य भएको उहाँको भनाइ छ ।
अध्यक्ष मैनालीले उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिइसकेपछि ऋण स्वीकृति हुने गरेको भन्दै त्यही कारण उत्पादन बढाउन नसकिएको गुनासो गर्नुभयो । उखु किसानका समस्या समाधान हुन नसक्दा उखु किसान उखु खेतीबाटै पलायन हुने गरेको उहाँको भनाइ छ । उचित मूल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।