पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार पाठकलाई नागरिक अभिनन्दन

 पुष १८, २०७९ सोमबार ७:१४:१० | रासस
unn.prixa.net

कास्की  - पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुहुने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई हिजाे अमरसिंह चौरदेखि विमानस्थलसम्म रथारोहणसहित अभिनन्दन गरेको हो ।

विमानस्थल उद्घाटनअघि हजारौँ पोखरेलीको सहभागितामा रथारोहण गरिएको हो । पोखरामा २०२९ सालदेखि २०३४ सालसम्म अञ्चलाधीश रहनुभएका पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर पोखरा–१४ को छिनेडाँडामा त्यसबेला तीन हजार रोपनी जमिन अधिग्रहण गर्नुभएको थियो । साथै आधुनिक पोखराको खाका तयार गरेको श्रेय पनि उहाँलाई जान्छ ।

जग्गा अधिग्रहणको ४७ वर्षपछि बल्ल पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण सम्पन्न भएको हो । यस खुशीयालीमा महानगरले पाठकलाई सम्मान गरेको महानगरका मेयर धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पाँच दशकअघि परिकल्पना गर्नुहुने तत्कालीन अञ्चलाधीश पाठकलाई उहाँको योगदानको कदरस्वरूप अभिनन्दन गरेका हौँ । अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देशबाहिर रहेकाले उपस्थित गराउन सकेनौँ ।'

विमानस्थलका परिकल्पनाकार पाठकलाई उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  कदरपत्रबाट सम्मान गर्नुभएको थियो । पोखरामा जमिन अधिग्रहण गरिएको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । विमानस्थलको उद्घाटन समारोहमा हजारौँ पोखरेलीले सहभागिता जनाएका थिए । विमानस्थल उद्घाटनसँगै आन्तरिक उडान त्यही विमानस्थलबाट सञ्चालन भएका छन् ।

तस्बिर : पोखरा महानगरपालिकाकाे फेसबुक

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया