पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : अर्थतन्त्र चलायमान हुने विश्वास

 पुस १८, २०७९ सोमबार १४:०:४६ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की - पोखरामा आइतवारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ ।

झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आउँदाे दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आए पनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतवार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो ।

हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ उद्घाटन भएको विमानस्थल सञ्चालनमा आएसँगै यसले आउँदाे दिनमा यसले गण्डकी प्रदेशसँगै समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने विषय गम्भीरताका साथ उठेको छ । अहिलेसम्मको अवस्थाले गण्डकी प्रदेश उद्योग व्यवसायका क्षेत्रमा पछि नै रहेको छ । नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा अहिलेसम्म आन्तरिक उडानका लागि सानो क्षमताको घरेलु विमानस्थल रहीआएकोमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्यसले अन्य सम्भावनालाई उजागर गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउनुहुन्छ ।

अहिले पोखराबाट लगभग आधा घण्टाको दूरीमा मात्र उडान भइरहेका अवस्थामा अब भने यहाँबाट सिधैँ छ घण्टासम्मको दूरीमा यात्रा गर्न सकिने भएको छ । उद्घाटन समारोहमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो विमानस्थलबाट पाँच/छ घण्टाको दूरीको यात्रा गर्न सकिने भनिरहँदा पोखरेलीले लगातार ताली वर्षाएर खुसी व्यक्त गरेका थिए ।

यो सँगै पोखराबाट विभिन्न छिमेकी राष्ट्रमा उडान गर्न सकिने बाटो खुलेको छ । यसका लागि हवाई मार्ग तय गर्ने सम्बन्धमा राज्यले कुटनीतिक छलफल तत्काल बढाउनु अपरिहार्य देखिएको छ । विमानस्थलसँग जोडिएको मुख्य पूर्वाधार सडकलाई तत्काल व्यवस्थित गर्नु अपरिहार्य देखिएको अध्यक्ष आत्रेयको भनाइ छ ।
    
'विमानस्थल सुरु भएसँगै आइतवार पोखराबाट लेखनाथसम्म आइपुग्न झण्डै तीन/चार घण्टा लागेको छ', उहाँले भन्नुभयो, 'विमानस्थलसम्म सहजरुपमा आवतजावत गर्नका लागि ट्राफिक व्यवस्थापनलाई तत्काल गम्भीरताका साथ लिनुपर्ने भएको छ ।' विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकलाई बस्ने किसिमका पूर्वाधारको विस्तार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । विमानस्थललाई सहीरुपमा उपयोगको वातावरण निर्माणतर्फ राज्यले ध्यान दिनुपर्ने बताउँदै उहाँले यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्रमा विशिष्ट योगदान पुग्ने उल्लेख गर्नुभयो ।

'आउँदाे दिनमा पोखरासहित समग्र गण्डकी प्रदेशमा उत्पादनलाई पनि जोड दिनु आवश्यक छ', उहाँले भन्नुभयो, 'यहाँका उत्पादनलाई बाहिर पठाउने अवस्था भयो भने त्यसले प्रत्येक स्थानीयको आम्दानी बढाउने र समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।' पोखरामा विद्यमान पर्यटकीय पूर्वाधारलाई पनि व्यवस्थितरुपमा उपयोग गर्नुपर्ने सरोकारवाला बताउँछन् । पोखरामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । 

तथ्याङ्कअनुसार काठमाण्डाै आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । पोखरा देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा रहेको अवस्थामा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यहाँको पर्यटनमा ठूलो योगदान पुर्याउने नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले बताउनुभयो ।

पर्यटन क्षेत्र उद्योग, व्यवसाय, यातायातलगायतका धेरै क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले यसबाट धेरै क्षेत्र लाभान्वित हुने बताउनुभयो । 'पर्यटकको आगमन बढेसँगै स्वाभाविकरुपमा खानेकुराको खपत हुन्छ, त्यसले उत्पादित खाद्यान्नले बजार पाउँछ', उहाँले भन्नुभयो, 'खाद्यान्नसँगै त्यससँग जोडिएका खाद्य उद्योग सञ्चालनमा आउने र अर्थतन्त्रलाई चलायमान बनाउने हुन्छ ।'

हिमाली, पहाडी र तराई क्षेत्रमा समेटिएको गण्डकीमा विभिन्न किसिमका उत्पादन हुने गर्दछ । हिमाली क्षेत्रमा उत्पादन हुने स्याउलगायतका फलफूलसँगै जिम्बु आदि जडीबुटीलाई निर्यात गर्न सकिन्छ भने पहाडी क्षेत्रमा फल्ने कोदो, मकै, फापर आदिलाई बजारमा पुर्याउन सकिन्छ । तराईको नवलपुर क्षेत्रमा उत्पादन हुने धान, गहुँ आदिको उत्पादन बढाउँदै आयआर्जन बढाउन सकिने सरोकारवालाको बताउँछन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया