सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैन, कसैकाे अघि लत्रनुपरेकाे छैन : माधव नेपाल

 पुष १८, २०७९ सोमबार १३:३७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उहाँको यस्तो अडान बाहिर आएको हो । 

आज सोमवारदेखि  काठमाण्डाैमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देश र नागरिककाे हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताउनुभयाे । आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै उहाँले कसैकाे अघि लत्रने पक्षमा नरहेको बताउनुभयाे । देशकाे पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप–प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली नागरिककाे भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । यो आरोप–प्रत्यारोप गर्ने बेला पनि होइन । कसैकाे सामु लत्रिनुपरेको पनि छैन । हामीले ठिक गरेका छौँ । दृढताका साथ उभिएका छौँ । हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ ।’

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिनुभयो । 

आजदेखि सुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेन्डासमेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । त्यसैगरी बैठकमा चुनावकाे समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया