गृहमन्त्री लामिछानेकाे निर्देशन– ‘मन्त्रालयकाे सभा कक्षमा आपत्कालीन द्वार तत्काल बनाउनू’

 पुस १८, २०७९ सोमबार १७:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभा कक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनुभएको छ । आज सोमवार गृह मन्त्रालयमा बसेको २५ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्यूनीकरण आफैँबाट सुरुवात गर्नुपर्ने भन्दै यस्ताे निर्देशन दिनुभएको हो । 

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने काममा कडाइ गर्न पनि पालिकाहरूलाई आग्रह गर्नुभयो । भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभा हलको निर्माणमा ध्यान दिन पनि सचेत गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘भवनकाे नक्सा पास गर्दादेखि निर्माण सम्पन्न भएको सर्टिफाई गरुन्जेलसम्म भूकम्पीय जोखिम न्यूनीकरण मापदण्डअनुसार काम भयाे कि भएन भनेर हेर्न सकियो भने प्रभावकारी हुनसक्छ । मापदण्डअनुसार भवन निर्माण भए कि भएनन् भनेर हेरेर, जाँचेर, बुझेर सर्टिफाई गर्न सक्यौँ भने भूकम्पीय जाेखिम न्यूनीकरणमा धेरै ठूलो भूमिका हुन्छ । धेरै वर्ष बितिसकेका भवनहरू कुन अवस्थामा छन् ? त्यसलाई पनि हेर्न सकियो र भएका ऐन, नियममा संशोधन गर्नुपर्ने अवस्था आएको छ भने, सच्याउनुपर्ने अवस्था आयो भने, मिलाउनुपर्ने अवस्था आयो भने पनि त्यसमा निरन्तर छलफल गर्न सक्यौँ भने प्रभावकारी हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 

बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै पालिकाले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले याे आचारसंहिताको पालनामा कडाइ गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम जनधनको क्षति भएको उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया